NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

रुसद्धारा युक्रेनका नयाँ सहरमा आक्रमण

किएभ । रुसी सेनाले शुक्रबार युक्रेनको उत्तरपश्चिम र मध्यपूर्वी क्षेत्रमा रहेका सहरमा आक्रमण गरेका छन् । युक्रेनका सञ्चारमाध्यामहरुले निप्रो र लुट्स सहरमा विस्फोट भएको बताएका छन् । यी सहरमा यसअघि आक्रमण भएको थिएन ।

लुट्सका मेयरले विस्फोट भएको पुष्टि गरेका छन् । उनले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै नागरिकहरुलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण गोप्य राख्न फेसबुकमार्फत अनुरोध गरेका छन् । लुट्समा वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा विस्फोट गरेको पुष्टि भएको छ ।

लुट्समा भएको आक्रमणमा २ युक्रेनी सैनिक मारिएका र ६ सैनिक घाइते भएको क्षेत्रीय प्रशासन प्रमुख युरियो पोहुल्याकोले बताएको बिबिसीले उल्लेख गरेको छ । निप्रोमा पनि तीन ठाउँमा विस्फोट भएको छ । त्यहाँ अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै दक्षिणपश्चिमी सहर इभानो–फ्रांकिभ्स्कमा पनि विस्फोटको आवाज सुनिएको बताइएको छ ।