NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रुस–युक्रेन युद्ध कसरी समाप्त होला ? यी हुन् ५ सम्भावना

युद्धको कुहिरोबीचमा हुँदा बाहिर निस्किने बाटो देख्न गाह्रो हुन्छ । युद्ध मैदानबाट आएका समाचार, कुटनीतिज्ञका कुरा, पीडितहरूको दुःखी भावना सबैले अशान्त बनाउँछ । योभन्दा हामी एक कदम पछाडि हटेर सोचौंः युक्रेन र रूसबीचको युद्ध कसरी समाप्त हुन सक्छ । राजनीतिज्ञ र सैन्य योजनाकारहरूले परीक्षण गरिरहेका सम्भावित परिदृश्यहरू के हुन् ? थोरैले आत्मविश्वासका साथ भविष्यको भविष्यवाणी गर्न सक्छन्, तर यहाँ केही सम्भावित परिणामहरू छन् :

१. छोटो युद्ध

यो परिदृश्यले रूसले सैन्य शक्ति अझ बढाउँछ । युक्रेनमाथि रकेट हमला बढाउँछ । अहिलेसम्म ठूलो आक्रमण नगरेको रूसको वायु सेनाले विनाशक हवाई हमलाहरू गर्छ । युक्रेनभर व्यापक साइबर आक्रमण हुन्छ, देशको पूर्वाधारमाथि हमला गर्छ । उर्जा र सञ्चारको नेटवर्क भत्किन्छ । हजारौं नागरिक मारिन्छन् । साहसपूर्वक प्रतिरक्षा गरिरहेको राजधानी किएभ केही दिनमै घुँडा टेक्छ । युक्रेनका राष्ट्रपति भ्लाद्मिर जेलेन्स्की कि युद्धमा मारिन्छन् वा अन्य देशमा पुगेर आफ्नो सरकार कायम रहेको बताउँछन् । पुटिनले विजय घोषणा गर्छन् र त्यहाँको स्थिति नियन्त्रणमा राख्न केही सैन्य फौज युक्रेनमै छोडेर बाँकीलाई फिर्ता गर्छन् । हजारौं शरणार्थी पश्चिमी देशमा विस्थापित हुन्छन् । युक्रेन पनि बेलारूसजस्तै मस्कोको इशारामा चल्ने देश बन्छ ।

युक्रेनको प्रतिरोधी बल स्थानीय जनताको सहयोग र हौसलाले झन् प्रभावकारी विद्रोहीमा रूपान्तरण हुन सक्छन् । पश्चिमी देशहरूले निरन्तर हतियार उपलब्ध गराउँछन् ।

यो परिदृश्य असम्भव छैन । तर यो रूसी सेनामा भर पर्छ । यसका लागि रूसले आक्रमण तरिका परिवर्तन गर्नुपर्छ र युक्रेनको प्रतिरोध कमजोर हुनुपर्छ । पुटिनले युक्रेनको सत्ता परिवर्तन गर्न र पश्चिमी मुलुकसँग मिल्न रोक्न सक्छन् । रूसको समर्थन गर्ने सरकार गैरकानूनी र विरोधको निसाना हुनेछ । यस्तो अवस्थाले झन् अस्थिरता बढ्नेछ र पुनः युद्ध हुने सम्भावना रहन्छ ।

२. लामो युद्ध

यो युद्ध लामो हुन सक्ने सम्भावना बढी छ । रूसी सैनिकहरू नैतिक बल वा कमजोर व्यवस्थापन र नेतृत्वका कारण कमजोर हुनेछन् । युक्रेनको सहर किएभका सडकमा भएका प्रदर्शनहरूले सहर कब्जा गर्न सहज हुनेछैन । यो अवस्था सन् १९९० को दशकमा रूसी सेनाले चेचन्याको राजधानी ग्रोन्जी कब्जा गर्न गरेको प्रयासजस्तै हुनेछ ।

रूसी सेनाले युक्रेनका सहर कब्जा गरे पनि त्यहाँ नियन्त्रण कायम गर्न असहज हुनेछ । रूसले प्रशस्त सैनिकहरू उपलब्ध गराउन असमर्थ हुन सक्छ । युक्रेनको प्रतिरोधी बल स्थानीय जनताको सहयोग र हौसलाले झन् प्रभावकारी विद्रोहीमा रूपान्तरण हुन सक्छन् । पश्चिमी देशहरूले निरन्तर हतियार उपलब्ध गराउँछन् । सायद अफगानिस्तानमा विद्रोहीहरूसँगको लामो संघर्षपछि अमेरिकाले छोडेर हिँडेजस्तै रूसीहरू पनि धेरै वर्षपछि नयाँ नेतृत्वसँगै युक्रेन छोड्न सक्छन् ।

३.युरोपेली युद्ध

के यो युद्ध युक्रेनभन्दा बाहिर पुग्ला ? राष्ट्रपति पुटिनले नेटोको सदस्य नभएका सोभियत संघका पुराना क्षेत्रहरू जस्तै मल्डोभा र जर्जियामा सेना पठाएर कब्जा गर्ने प्रयास गर्नेछन् । वा त्यहाँ कुनै कारणले युद्ध हुन सक्ला । पुटिनले युक्रेनलाई हतियार दिने पश्चिमी देशको कदमलाई आक्रमण भन्दै प्रतिरोध गर्नुपर्ने बताउँछन् । उनले नेटोको सदस्य रहेको लिथुआनियाबाट करिडोर बनाउनका लागि सेना पठाउने धम्की पनि दिन सक्छन् । यो नेटोको लागि निकै खतरनाक र जोखिमयुक्त युद्ध हुनेछ ।

चीनले रूसलाई सम्झौताका लागि दबाव दिन सक्छ । यसको ग्यास र तेल खरिद नगर्ने चेतावनी दिन सक्छ । यस्तो अवस्थामा पुटिनले बाटो खोज्न सक्छन् ।

नेटोको सैन्य सहयोग चार्टरको दफा ५ अनुसार कुनै पनि सदस्य देशमाथि आक्रमण गर्नु सबैमाथि आक्रमण गर्नु हो । यदि पुटिनले आफ्नो नेतृत्व जोगाउने यो मात्रै एउटा विकल्प हो भन्ने सोचे भने उनले यो जोखिम उठाउन पनि सक्छन् । यदि युक्रेनमा हार व्यहोर्नु पर्यो भने पुटिनको प्रलोभन अझ बढ्नेछ । रूसी नेता लामो समयदेखिको अन्तर्राष्ट्रिय मान्यता तोड्न इच्छुक छन् । आणविक हतियारको प्रयोगमा पनि यही तर्क लागू गर्न सकिन्छ । यसै साता पुटिनले आफ्ना आणविक सेनालाई उच्च स्तरको सर्तकतामा राखे । पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने सम्भावना भएको धेरै विश्लेषकले अर्थ लगाएका छन् । तर यो रूसी सिद्धान्तले युद्धको मैदानमा आणविक हतियारहरूको सम्भावित प्रयोगका लागि अनुमति दिने ‘रिमाइन्डर’ थियो ।

४.कुटनीतिक समाधान

सबैथोकको बावजुद पनि त्यहाँ कुटनीतिक समाधान सम्भव छ ? ‘अहिले बन्दुकहरू बोलिरहेका छन् तर वार्ताको बाटो सधैं खुला हुनुपर्छ’ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भनेका छन् । वार्ता निरन्तर हुने निश्चित छ । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ पुटिनसँग फोनमा कुरा गरेका थिए । कुटनीतिज्ञहरू भन्छन् मध्यस्थकर्ताहरू मस्कोसम्म फैलिएका छन्, रूस र युक्रेनका अधिकारीहरू वार्ताका लागि बेलारूसको सीमामा भेट गरेका थिए । वार्तामा खासै प्रगति हुन नसके पनि पुटिनले वार्तापछिको युद्धविरामलाई अस्वीकार गरेका छैनन् ।
तर सबैभन्दा महत्वपूर्ण प्रश्न पश्चिमीहरूले रूसलाई युद्ध रोक्ने खालको प्रस्ताव गर्न सक्छन् वा सक्दैनन भन्ने हो । रूसमाथिका प्रतिबन्ध हटाउन के चाहिन्छ भन्ने कुरा रूसी नेतृत्वलाई थाहा हुन आवश्यक भएको कुटनीतिज्ञहरू बताउँछन् ।

यस परिदृश्य हेरौं, युद्धले रूसलाई धेरै असर गर्छ । प्रतिबन्धले मस्को अस्तव्यस्त हुन्छ । युद्धमा मारिएका सैनिकका शवहरू फिर्ता जाँदा झन् विरोध बढ्छ । पुटिनले आफूले चपाउन सक्नेभन्दा धेरै टोकेको महसुस गर्नेछन् । उनले युद्ध जारी राखेर भन्दा यसको समाप्तीमा आफ्नो शासन जोगिन सक्ने मुल्यांकन गरे भने वार्तामा आउन युद्धविराम हुन सक्छ । चीनले रूसलाई सम्झौताका लागि दबाव दिन सक्छ । यसको ग्यास र तेल खरिद नगर्ने चेतावनी दिन सक्छ । यस्तो अवस्थामा पुटिनले बाटो खोज्न सक्छन् । यहीबीच युक्रेनी अधिकारीहरू युद्धले देशको निरन्तर विनाश र नागरिकहरू मारिइरहेको देख्छन् र राजनीतिक सम्झौता उपयुक्त हुने निष्कर्षमा पुग्न सक्छन् । त्यसपछि कुटनीतिज्ञहरू संलग्न हुन्छन् र सम्झौता हुन्छ । युक्रेनले क्रिमिया र दोनबासको केही भागमा रूसी सार्वभौमसत्ता स्वीकार गर्न सक्छ । पुटिनले युक्रेन स्वतन्त्र राष्ट्र भएको र यसको युरोपसँगको सम्बन्ध यसको अधिकार भएको मान्न सक्छन् । यो सम्भव छैन । तर हिंसात्मक युद्धको अन्त्यमा यस्तो परिदृश्य सम्भव पनि हुन सक्छ ।

५. पुटिनको बर्हिगमन

भ्लादिमिर पुटिनले आक्रमण सुरू गर्दा भनेका थिए, ‘युद्धको परिणाम जे भए पनि हामी तयार छौं ।’ तर युद्धकै कारण पुटिनको शक्ति गुम्ने भयो भने ? अहिले यो सम्भव देखिँदैन ।

लन्डनको किंग्स कलेजका युद्ध अध्ययन विषयका प्राध्यापक सर लरेन्स फ्रिडम्यानले यो साता लेखेका थिए, ‘किएभ सत्ता फेरिन सक्ने जति सम्भावना छ, मस्कोमा पनि उति नै छ ।’ पुटिनले विध्वंसात्मक युद्ध रोजे । हजारौं रसियाली सेना मारिए । देशको अर्थतन्त्र साँघुरियो । लोकप्रिय समर्थन घट्यो । त्यहाँ जनविद्रोह हुन सक्ने चुनौति पनि छ । उनले रूसको आन्तरिक सुरक्षा बल विपक्षीलाई दबाउन प्रयोग गर्न सक्छन् । तर यसले रूसका धेरै सैनिक, राजनीतिज्ञ एवं धनाढ्य व्यक्तिहरू उनको विरूद्धमा हुन्छन् । पश्चिमाहरूले पुटिनलाई नयाँ परिष्कृत नेताले रिप्लेस गर्न सक्छन्, प्रतिबन्ध हट्नेछ र सामान्य कुटनीतिक सम्बन्धको विस्तार हुने स्पष्ट पार्छन् । त्यहाँ रक्तपातपूर्ण कु हुन्छ र पुटिन सत्ताबाट बाहिरिन्छन् । अहिले नै यसको सम्भावना नदेखिए पनि पुटिनबाट फाइदा लिइरहेका व्यक्तिहरूले पुटिनबाट स्वार्थ पूरा हुन नसक्ने देखेपछि उनीमाथि लामो समयसम्म भरोसा नगर्न सक्छन् । यसकारण केही भन्न सकिँदैन ।

निष्कर्ष

यी परिदृश्यहरू ठ्याक्कै हुन्छन भन्न सकिँदैन । तर यीमध्ये धेरै समाधान भएर आउन सक्छन् । जे भए पनि युद्धले विश्व फेरिएको छ । यसले पहिलाको स्थितिमा सम्बन्ध फर्काउन सक्दैन । बाहिर राष्ट्रसँग रूसको सम्बन्ध फेरिनेछ । सुरक्षाप्रति युरोपेली दृष्टिकोण परिवर्तन हुनेछ ।

बीबीसीडटकमबाट ।