NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नाटकीय प्रतिस्पर्धामा सिन्धुपाल्चोक सभापतिमा थोरै मतले चुक्यो शेखर पक्ष

काठमाडौं । दोस्रो चरणमा पुग्दै रोमाञ्चक प्रतिस्पर्धा भएको सिन्धुपाल्चोक कांग्रेस सभापतिमा अन्ततः संस्थापन पक्षले बाजी मारेको छ । पहिलो चरणमा संस्थापनका दुई र डा. शेखर कोइराला पक्षको एक उम्मेदवार प्रतिस्पर्धामा उत्रिंदा कसैले पनि आवश्यक ५० प्रतिशत मत कटाउन सकेका थिएनन् ।

पहिलो चरणमा संस्थापन शेरबहादुर देउवा पक्षका उम्मेदवार जंगबहादुर तामाङले ७०५ मत ल्याएका थिए । संस्थापन इतरका वंशलाल तामाङले दोस्रो हुँदै ६२९ मत ल्याए । संस्थापनसँग असहमत हुँदै उठेका प्रेमध्वज लामाले तेस्रो हुँदै ४९३ मत ल्याए । जसका कारण पुनः सबैभन्दा बढी मत ल्याउने २ उम्मेदवारबीच प्रतिस्पर्धा भएकाे थियाे ।

दोस्रो चरणमा प्रतिस्पर्धामा लान सक्नुलाई शेखर पक्षले चिठ्ठाको रुपमा लिएको थियो । किनकी संस्थापनबाट एउटै मात्रै उम्मेदवार भइदिएको भए पहिलो चरणमा नै आफूहरू हार्ने इतर पक्षको हिसाब थियो ।

झन् दोस्रो चरणमा संस्थापनबाटै बागी उम्मेदवारी दिएका प्रेमध्वज लामाको साथ पाएपछि त झन् जित्नेमा शेखर पक्ष(कृष्णप्रसाद सिटौला पक्षको पनि साथले)  उत्साही थियो । किनकी ६२९ भोट ल्याएका उम्मेदवारलाई संस्थापनकै ४९३ मत ल्याउने प्रेमध्वजले पत्रकार सम्मेलन गरेरै समर्थन गरेपछि इतर पक्ष उत्साही नहुने कुरै थिएन ।

प्रेमध्वजले पत्रकार सम्मेलन गर्दै ४३ सालदेखि माेहन बस्नेतलाई समर्थन गरे पनि अहिले आफूमाथि अपमान भएकोले वंशलाललाई सहयोग गर्ने घोषणा गरेका थिए । किनकी सभापतिकाे उम्मेदवार नबाएकाेमा उनी बस्नेतसँग असन्तुष्ट थिए । निवर्तमान सभापति विकास लामाको पनि समर्थन छँदै थियो । जसले शेखर पक्षलाई उत्साह थपेको थियो ।

संस्थापनकै प्रेमध्वजले खुलेरै समर्थन गरेपछि दोस्रो चरणको प्रतिस्पर्धामा आफूहरूले जित्ने हिसाबकिताब शेखर समूहले निकालेको थियो । तर चुनावी परिणाम जंगबहादुर अर्थात् संस्थापन पक्षमा गएको छ । १७८७ मत खस्दा विजयी बनेका जंगबहादुरले ९१२ मत ल्याए । ६४ मतले पछि पर्दै शेखर र सिटौला पक्षका बंशलाल ८४८ मतमा सीमित हुन पुग्दा पराजित भए ।

पहिलो चरणमा जंगबहादुरले वंशलालको भन्दा ७६ मत बढी ल्याएका थिए । तर पहिलो चरणको भन्दा जंगबहादुरले २०५ मत बढाएर दोस्रो चरणमा जित निकाले ।

वंशलालले २१९ मत बढाए पनि जित निकाल्न सकेनन् । प्रेमध्वजले पाएको ४९३ मत दुवैतिर बराबरीकै हाराहारीमा बाडिएको हो । दोस्रो चरणमा ८० भोट मत कम खसेको थियो ।

संस्थापनका जंगबहादुरलाई मोहनबहादुर बस्नेतको बलियो समर्थन र साथ थियो । केन्द्रमा सभापति शेरबहादुर देउवाका निक्कै विश्वासिला नेता मानिने बस्नेतले अन्ततः संस्थापनलाई जिताएरै छोडे ।

आफूसँग असन्तुष्ट भएर प्रेमध्वजले वंशलाललाई समर्थन गरे पनि बस्नेतले रणनीतिक तयारी गरी परिणाम आफ्नो पक्षमा पारेका हुन् ।

सबै पक्षको साथ र सहयोगले जित सम्भव भएको उनको भनाई छ । केन्द्रीय राजनीतिमासमेत बलियो प्रभाव र पहुँच भएका सिन्धुपाल्चोक कांग्रेसका पूर्व सभापति भएका बस्नेत जिल्लाकाे राजनीतिमा उत्तिकै बलिया मानिन्छन् ।