NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसका १६ जिल्लामा पनि संस्थापनको वर्चस्व, शेखर र निधि पक्षले कहाँ–कहाँ जिते ?

काठमाडाैं । कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ जिल्लाको नेतृत्व पनि चयन भएको छ । यस अघि ६१ जिल्लाको नतिजा आएकोमा थप १६ जिल्लाको पनि नतिजा आएको हाे ।

बाँकी १६ जिल्लामध्ये १० जिल्लामा संस्थापन शेरबहादुर देउवा पक्ष विजयी भएको छ । जसमा मकवानपुर, पर्सा, कैलाली, अछाम, रौतहट, बारा, सिरहा, सर्लाही, महोत्तरी, सिन्धुपाल्चोक जिल्ला छन् ।

डा. शेखर कोइराला पक्षले सिन्धुली, बाँके, नवलपुर, चितवन र सप्तरी गरी पाँच जिल्लामा जिल्ला सभापति जितेको छ । धनुषामा शेखर पक्षकै सहयोगमा विमलेन्द्र निधि पक्षले जिल्ला सभापति जित्यो ।

१६ जिल्लाको सकिएसँगै कांग्रेसका ७७ वटै जिल्लाले नेतृत्व पाएका छन् । जसमा संस्थापन शेरबहादुर देउवा पक्षले ४४ र ३३ जिल्लामा शेखर कोइराला पक्ष विजयी भएको छ । धनुषामा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार विजयी भएका छन् । निधिले केन्द्रमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि उनी पनि संस्थापन निकट नै रहेको बताइन्छ । यद्यपी धनुषामा दाेस्राे चरणमा निधिका उम्मेदवारलाई शेखर पक्षले मत दिएर जिताएकाे थियाे ।

संस्थापनले जितेका जिल्ला

मकवानपुर
मकवानपुरको नेतृत्व चयन भने फरक रह्यो । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याउने बुद्ध लामालाई सहमतिमा सभापति चयन गरिएको हो । सभापतिका लागि पहिलो चरणमा खसेको १ हजार ७ सय ७५ मतमा लामाले ५९२, दोस्रो भएका आनन्दराम पराजुलीले ५४५ र तेस्रो हुने जयराम लामिछानेले ५३१ मत ल्याए । तर दोस्रो बढी मत ल्याएका पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमतिपछि लामालाई सभापति चयन गरिएको थियो ।

पर्सा

पर्साको नतिजा पनि फरक नै रह्यो । संस्थापनपक्षीय उम्मेदवार जनार्दन सिंह क्षेत्री ४६५ मतान्तरले विजयी भए । विजयी सिंहले एक हजार एक सय १० र श्याम पटेलले ६४५ मत मात्रै ल्याए ।

कैलाली

कांग्रेस कैलाली सभापतिमा संस्थापनपक्षीय नारायणदत्त भट्ट विजयी भए । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

महोत्तरी

महोत्तरी कांग्रेस सभापतिमा नागेश्वर यादव चयन भएका छन् । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सहमतिमा यादव सभापति चयन भएका हुन् । पहिलो चरणमा दोस्रो मत ल्याउने सुशीलकुमार यादवले समर्थन गरेपछि यादव सहमतिमा सभापति चयन भएका थिए । युवा नेता कल्याण गुरुङले संस्थापनका नागेश्वर यादवलाई अघि सारेका थिए । डा. शेखर कोइराला र विमलेन्द्र निधिका उम्मेदवार बजरंग नेपाली पहिलो चरणबाटै बाहिरिएका थिए ।

सिरहा

रामचन्द्र यादव विजयी भएका छन् । उनी पनि संस्थापन निकटका हुन् । संस्थापन इतरका सीतादेवी यादव, पद्यनारायण चौधरीसहितका नेताको साथ पाए पनि रामसुन्दर चौधरी पराजित हुन पुगे । पुन मतदान हुनुपर्ने भन्दै पूर्व संस्थापनले विरोध गरिरहेको छ ।

रौतहट

रौतहट सभापतिमा पनि संस्थापन पक्षले बाजी मारेको छ । संस्थापन पक्षका उम्मेदवार सुनिल यादव विजयी भए । डा. शेखर कोइराला र नेता विमलेन्द्र निधिका उम्मेदवार हृदयनारायण यादवलाई संस्थापनका उम्मेदवारले पराजित गरेका हुन् ।

अछाम

संस्थापन देउवा पक्षका पुष्प शाह विजयी भएका छन् । सस्थापनकै दुई पक्षबीच प्रतिस्पर्धा भएको थियो ।

बारा

बारा कांग्रेस सभापतिमा राजेशराय यादव निर्वाचित भएका छन् । उनी १२०६ मत ल्याएर विजयी भएका हुन् । पराजित शम्भुबहादुर बुढाथोकीले ११५४ मत प्राप्त गरे । पहिलो चरणमा राजेशराय यादवले ८३३ र शम्भुबहादुर बुढाथोकीले ८०९ मत ल्याएका थिए । डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले समर्थन गरेका रमानन्द यादव ७०८ मतसहित तेस्रोमा आउँदै दोस्रो चरणमा निर्णायक देखिएका थिए । तर विजयी र पराजित दुवै संस्थापन पक्षका हुन् । विजयी रायले ३७३ मत बढाएका थिए । पराजित बुढाथोकीले ३४५ मत बढाए पनि ५२ मतले पराजित हुन पुगे ।

सर्लाही

सुरेन्द्रप्रसाद सिंह सभापतिमा विजयी भएका छन् । संस्थापन पक्षका उनले लक्ष्मण रायलाई ३८० मत अन्तरले पराजित गरेका हुन् । विजयी सिंहले १७५८ मत मत ल्याए । पराजित रायले १३७८ मत प्राप्त गरे । रायलाई अमरेशकुमार सिंहले समर्थन गरेका थिए ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा दोस्रो चरणमा पुगेको निर्वाचनमा संस्थापनकै प्रेमध्वज तामाङले खुलेरै समर्थन गरेपछि दोस्रो चरणको प्रतिस्पर्धामा आफूहरूले जित्ने हिसाबकिताब शेखर समूहले निकालेको थियो । तर चुनावी परिणाम जंगबहादुर अर्थात् संस्थापन पक्षमा गएको छ । १७८७ मत खस्दा विजयी बनेका जंगबहादुरले ९१२ मत ल्याए । ६४ मतले पछि पर्दै शेखर र सिटौला पक्षका बंशलाल ८४८ मतमा सीमित हुन पुग्दा पराजित भए । पहिलो चरणमा जंगबहादुरले वंशलालको भन्दा ७६ मत बढी ल्याएका थिए । तर पहिलो चरणको भन्दा जंगबहादुरले २०५ मत बढाएर दोस्रो चरणमा जित निकाले ।

शेखर पक्षले जितको जिल्ला

बाँके

बाँके कांग्रेसको नतिजा पनि फरक नै रह्यो । पहिलो चरणमा बहुमत ल्याउन नसकेपछि फेरि चुनाव भएको थियो । पहिलो चरणमा नारायणप्रसाद गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ ल्याए । अब गौडेल र कुर्मीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो । दोस्रो चरणमा हमालले संस्थापन पक्षका कुर्मीलाई समर्थन गरे । तर पनि दोस्रो चरणमा डा। शेखर कोइराला पक्षका गौडेल विजयी हुन पुगे ।

चितवन

चितवन कांग्रेस सभापति राजेश्वर खनाल निर्वाचित भए । पहिलो चरणका सभापतिका कुनै पनि पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा प्रवेश गरेको थियो । तर, निकटत प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठले समर्थन गरेपछि सहमतिमा खनाल सभापति चयन भएका हुन् । संस्थापनका श्रेष्ठले खनाललाई समर्थन गरेका हुन् । खनाल संस्थापन इतरका हुन् ।

नवलपुर

नवलपुर कांग्रेसको नतिजा पनि फरक नै देखियो । उम्मेदवारी मनोननय गरेपछि सहमतिका आधारमा पुराना नेता महेन्द्रध्वज जिसीलाई सभापति चयन गरिएको छ । नेता रामचन्द्र पौडेलसमेतको प्रयासमा जिसीलाई सभापति चयन गरिएको हो । संस्थापन पक्षका बालकृष्ण घिमिरेले उम्मेवदारी फिर्ता लिएपछि सहमतिमा जिसी सभापति चयन भएका हुन् । जिसी पूर्व संस्थापनपक्षीय नेता हुन् ।

सिन्धुली

पहिलो चरणबाटै बाहिरिएका संस्थापनपक्षीय उम्मेदवार प्रेमचन्द्र दाहालले समर्थन गरेपछि दोस्रो चरणमा स्वतन्त्रका उपेन्द्र पोखरेल विजयी भए । दोस्रो चरणमा डा. शेखर कोइराला पक्षका उज्जवलप्रसाद बराल पराजित भएका थिए । स्वतन्त्रबाट भनिएका उनलाई संस्थापन पक्षका प्रेमचन्द दाहाल पक्षले पनि समर्थन गरेको थियो । तर उनी शेखरतिर खुलेको बताइन्छ ।

सप्तरी

सप्तरी सभापतिमा रामदेव साह विजयी भएका छन् । साहले संस्थापनपक्षका शत्रुद्यन यादवलाई १०९ मत अन्तरले पराजित गरेका हुन् । विजयी साहले ११८६ र पराजित यादवले १०७७ मत प्राप्त गरे ।

विमलेन्द्र निधि

धनुषा

दोस्रो चरणमा पुगेको धनुषा सभापतिमा योगेन्द्र पजियार विजयी हुन पुगे । निधि पक्षका योगेन्द्र पजियारले पहिले चरणमा १२४८ मत ल्याउँदा संस्थापन देउवा पक्षका सन्तोषकुमार यादवले ८८३ मत ल्याए । तेस्रो भएका शेखर पक्षका दिनेशप्रसाद यादव प्रसैलाले ६३० मत ल्याएका थिए । पजियार र यादवबीच पुनः प्रतिस्पर्धा हुँदा निधि पक्षका पजियार विजयी भएका हुन् ।

योगेन्द्र पजियार दोस्रो चरणमा पजियारले १७३५ मत ल्याए । पजियारले ४८७ मत बढाएका थिए । पराजित यादवल १६३ मतमात्रै बढाउँदा १०४६ मत मात्रै ल्याए । दोस्रो चरणमा निर्णायक बनेको प्रसैला पक्षले निधिका उम्मेदवार पजियारलाई सघाएको थियो । तेस्रो