NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

होली र मानवका अनेक रङ

काठमाडौं । होलीका अनेक रङझैं मानव समाजमा पनि अनेक रङहरू देखिन्छन् । मानिस एउटै हो, तर यसका अनेक रूप र रङ छन् । कोही साधु, कोही चोर । कोही दानवीर, कोही कन्जुस । कोही प्राण बचाउने त कोही प्राण लिने । कसैलाई करोडपछि अर्ब कमाउने चिन्ता, कसैलाई साँझ बिहानको छाक टार्ने सुर्ता । होलीका सन्दर्भमा विश्वका यस्तै अनेक रङका अनेक पात्रको कथा :

यी कस्ता वाल्मीकि ?

‘वाल्मीकि’ नाम भएर के गर्नु ? मान्छेचाहिँ ‘रत्नाकर डाँकु’जस्तै खतरनाक रहेछन् । होलीको रङमा सारा जगत् रङ्गिइरहेका बेला भारतको उत्तरप्रदेशमा झण्डै एउटा क्रूर अनिष्ट हुनै लागेको थियो । होलीकै दिन एक बालिकालाई बलि दिने तयारीमा रहेका दुई अन्धविश्वासी अपराधी पक्राउ परेका छन् ।

यो अनौठो घटना हो, उत्तरप्रदेश नोयडाको छिजारसी गाउँको । त्यहाँ एक सात वर्षीय बालिकालाई उनकै छिमेकी सोनु वाल्मीकिले अपहरण गरे । होलीकै दिन बालिकाको बलि दिने सोनुको तयारी थियो ।

मानिस एउटै हो, तर यसका अनेक रूप र रङ छन् । कोही साधु, कोही चोर । कोही दानवीर, कोही कन्जुस । कोही प्राण बचाउने त कोही प्राण लिने 

बालिका एकाएक गायब भएपछि घर परिवारमा चिन्ता छायो । आफन्त र छिमेकीले बालिकाको निकै खोजी गरे । तर कुनै सुराक मिलेन । अन्ततः बालिकाका काका शत्रुघ्न कुमारले प्रहरी चौकीमा आफ्नी भतिजी घरबाहिर खेलिरहेकै अवस्थामा हराएको सूचना दिए ।

प्रहरीले बालिकाको घर आसपासको सिसिटिभी फुटेजको व्यापक छानबिन गर्‍यो । सिसिटिभी फुटेजमा बालिकालाई अपहरणकारीले बागपत नामक ठाउँतिर लैजाँदै गरेको देखियो । प्रहरीका तीनवटा टोली परिचालित भए । विभिन्न ठाउँमा छापा मारियो । अन्ततः प्रहरीले अपहरणकारीहरूलाई पक्राउ गर्‍यो ।

अपहरणकारीको बयानबाट रोचक खुलासा भयो । अपहरणकारीका सोनु वाल्मीकिका अनुसार लामो समयदेखि उसको विवाहको धोको पूरा भइरहेको थिएन । विवाह नभएकाले सोनु निकै तनाव र डिप्रसनमा थिए ।

बागपत, खामपुर लोहारी निवासी सोनुका एक आफन्त सतेन्द्र त्यो भगमा नाम चलेका तान्त्रिक थिए । सोनुले आफ्नो विवाहको चाहना ती तान्त्रिकसँग राखे । तान्त्रिकले देवताहरूलाई खुसी पार्न एक बालिकालाई बलि दिनुपर्ने र अनि मात्र सोनुको विवाहको सपना पूरा हुने सल्लाह दिए ।

बालिकाको बलि दिन होली शुभ साइत हुने सल्लाह पनि तान्त्रिकले दिए । यसपछि सोनु र उसका साथी निटूले मार्च १३ मा छिजारसी कोलोनीबाट आफ्नै छिमेकीकी सात वर्षीय बालिकाको अपहरण गरे ।

धन्न, प्रहरीले समयमै अपहरणकारी पक्राउ गरेकाले होलीको रङमा कुनै बालिकाको रगत लत्पत्तिन पाएन । आखिर अहिलेको आधुनिक युगमा पनि तान्त्रिक र अन्धविश्वासको रङ अझै मेटिएको छैन ।

किमकी प्यारी बिराली

इंगल्याण्डबाट एउटा रोचक खबर आएको छ । १७ वर्ष पहिला हराएको एउटा बिरालो फेला परेको छ । स्कटिस महिला किम कोलियरलाई त्यसबेला निकै आश्चर्य लाग्यो, जब कसैले फोन गरेर उनलाई भन्यो, ‘बधाई छ, १७ वर्ष पहिले हराएको तपाईंको बिरालो फेलापरेको छ ।’
सन् २०्र०४ मा इंगल्याण्डको मिडलोथियान बसाइँ सर्ने क्रममा किमकी बिराली टिल्ली हराएकी थिई ।

किमले आफ्नी प्यारी बिराली खोज्न के मात्र गरिनन् । विभिन्न ठाउँमा बिरालीको तस्बिरसहितको पोस्टर टाँसिन । फेला पार्नेलाई पुरस्कारको घोषणा गरिन् । महिनौं खोज्दा पनि बिराली फेला परिनन् । एकै पटक १७ वर्षपछि एकाएक बिरालो फेला परेको खबरले किम तीनछक परिन् ।

किमले बिरालीको शरीरमा एक माइक्रो चिप फिट गरेकी थिइन् । माइक्रो चिपले बिराली जीवितै रहेको जानकारी किमलाई दिइरहन्थ्यो । तर धेरै वर्ष भएकाले उनलाई बिराली फेला पर्ने आश मरिसकेको थियो । सुरक्षा अधिकारीले जब उनलाई फोन गरेर टिल्लीका बारेमा सोधे, किम आश्चर्यचकित भइन् ।

खासमा बिराली त्यही ठाउँमा थिइन्, जहाँ पहिला किम बस्ने गर्थिन् । अधिकारीहरूले टिल्ली आफ्नो गाडीको पछाडि बसिरहेको जानकारी गराए, उनी लिन गइन् । अहिले पनि किमसँग दुई पाल्तु जनावर छन् । अब त्यसमा हराएकी बिराली पनि थपिएकी छन् । यसले किमको जीवनमा नयाँ बहार ल्याइदिएको छ ।

आपतमा अनील अम्बानी

कुनै बेला भारतका धनी व्यवसायी कहलिएका अनील अम्बानी अहिले ऋण न ऋणको बोझमा च्यापिएर निसास्सिँदैछन् । उनको ऋणमा डुबेको कम्पनी रिलायन्स क्यापिटलका सिइओ धनन्य तिवारीले समेत राजीनामा दिएका छन् । अथाह ऋणमा डुबेको यो कम्पनी अब लिलाम हुँदैछ ।

भारतको रिजर्भ बैंकले सन् २०२१ नोभेम्बर २० मा रिलायन्स क्यापिटल बोर्डलाई विघटन गरिदिएको थियो । कम्पनीले ‘पेमेन्ट डिफल्ट’ गरेपछि यसको काम कारबाहीमाथि प्रश्न उठेको थियो । अहिले यो कम्पनी खरिद गर्न अडानी फिनसर्व, केकेआर, पिरामल फाइनान्स र पुनावाला फाइनान्सले रुचि देखाएका छन् । यही २५ मार्चमा कम्पनीको लिलामी हुँदैछ ।

अनील अम्बानीको ठूलो कम्पनीमा रिलायन्स क्यापिटलमाथि सन् २०२० डिसेम्बरसम्म २० हजार ३८० करोड भारु र रिलायन्स होम फाइनान्समाथि १३ हजार करोड भारुको ऋण थियो । अनील अम्बानीमाथि सन् २०२० फेब्रुअरीसम्म ३० करोड डलरको ऋण थियो, तर उनको असेट्स केवल ८ दशमलव २ करोड डलर मात्र थियो ।

एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाइ अनील अम्बानी कुनै बेला भारतकै तेस्रा ठूला धनी थिए । तर अहिले उनको कुल आम्दानी शून्य छ । रिलायन्स कम्युनिकेसन्स र रिलायन्स न्याबल एन्ड इञ्जिनियरिङसहित कैयौं कम्पनी ऋण तिर्न असफल रहे । बैंकहरूले ती कम्पनीलाई बैकरस्सी कोर्टको कठघरामा उभ्याए ।

भारतीय बैंक र वित्तीय संस्थामा रिलान्सको २६ हजार करोड ऋण छ । अब यी कम्पनीहरू इन्साल्वेन्सी प्रक्रियाबाट गुज्रिरहेका छन् । भारतीय बैंक र अन्य साहुहरूले यी कम्पनीमाथि ८६ हजार करोड चुक्ता गर्नुपर्ने दाबी गरिरहेका छन् ।

एलन मस्क बने ‘एलोना’

रुस र युक्रेनको युद्धमा विश्वकै सबैभन्दा धनी एलन मस्कको नाम पनि चर्चामा छ । एलनको नाम ट्विटरमा अब ‘एलोना मस्क’मा परिणत भएको छ । एलनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘फाइट’कै लागि चुनौती दिएका छन् ।

एलनको यो चुनौतीप्रति चेचेन्याका युद्ध नायक कादिरोवले एलनलाई ‘एलोना’ शब्द उच्चारण गर्दै लेखे, ‘एलोना, तिमी तालिमका लागि चेचेन्या आऊ । जब तिमी चेचेन रिपब्लिकबाट फर्किंनेछौ, पूर्ण रूपमा तिमीमा परिवर्तन आउनेछ ।’

कादिरोवको प्रस्तावमा एलनले लेखे, ‘यो प्रस्तावका लागि धन्यवाद । तर यति सानदार, तालिम मेरा लागि केही बढी नै फाइदापूर्ण हुनेछ । यदि पुटिन मसँग लड्न डराइरहेका हुन् भने म आफ्नो बाँया हातको प्रयोग गर्न तयार छु । हुन त, म बाँया हातबाट कुनै काम गर्दिनँ ।’

यो ट्विटर दोहोरोमा एलन मस्की आमा पनि सामेल भइन् । उनले एलनको सम्पादित तस्बिर रि–ट्विट गर्दै एलनकी आमा मे मस्कले लेखिन्, ‘तिमी निकै सुन्दर छौ एलोना ।’

चेचेन कमाण्डर कादिरोव पुटिनका अति घनिष्ठ मानिन्छन् । उनी चेचेन्यामा मानव अधिकार उल्लंघनमा कुख्यात छन् । उनले आफ्ना कैयौं चेचेत लडाकुलाई युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्याका लागि पठाएको खबर पनि आएको थियो, जसलाई युक्रेनी सेनाले मारिदिएका थिए ।

कादिरोव अहिले युक्रेनमा छन् र आफ्नो चेचेन सेनाको नेतृत्व गरिरहेका छन् । एलन मस्कले केही दिन पहिले रुसी राष्ट्रपति कार्यालय, क्रेमलिनलाई ट्विटरमा ट्याग गरेर पुटिनलाई फाइटका लागि चुनौती दिएका थिए । आफू पुटिनसँग लड्न तयार रहेको र जसले जित्छ उसले नै युक्रेनको भविष्य तय गर्ने पनि एलनको चुनौती थियो ।

खेतमा सुनको दुर्लभ सिक्का

लण्डनको रङ अर्र्कै छ । हालै लण्डनको मेफेयरमा एउटा दुर्लभ सुनको सिक्का १ लाख ४० हजार पाउण्डमा लिलाम भएको छ । ‘लियोपार्ड क्वाइन’ नामक यो सानो सिक्का १४ औं शताब्दीको हो, जसलाई बेलायतका एक ग्राहकले किनेका छन् ।

यो सिक्का बेलायतको नरफकमा बस्ने ६५ वर्षीय रिटायर्ड रिसर्च वैज्ञानिक एण्डी कार्टरले खोजेका हुन् । सन् २०१९ मा कार्टर मेटल डिटेक्टरका साथ खेतमा घुमिरहेका थिए, त्यसैबेला उनलाई यो दुर्लभ सिक्का फेला परेको थियो ।

‘गार्डियन’ पत्रिकाका अनुसार कार्टरले भनेका छन्, ‘जब मैले सिक्का फेला पारेँ, म खुसीले स्वर्ण नृत्य गरेँ । म भाग्यशाली हुँ ।’

सेवा निवृत्त भएपछि कार्टर प्रायः मेटल डिटेक्टर बोकेर विभिन्न ठाउँमा घुमिरहन्थे । आफ्ना ३० खोजकर्ताका साथ उनी एक किसानको खेतमा अनुसन्धान गरिरहेका थिए । अन्य खोजकर्ता घर जाने तयारीमा लागे । अब कार्टर र उनका अन्य दुई सहयोगी मात्र खोजमा लिन थिए ।

जब सिक्का भेटियो, त्यो जमिनमुनि १० इन्च तल थियो । फोहरमा लपेटिएको सिक्का सफा गर्ने क्रममा उनले त्यसमा बिरालोको पछिल्लो भागजस्तो आकृति देखे । उनलाई लाग्यो, यो चितुवाको आकृति हुन सक्दैन, किनकि चितुवा निकै दुर्लभ हुन्छ । तर विशेषज्ञलाई देखाउँदा त्यो चितुवाकै आकृति भएको पुष्टि भयो ।

खासमा त्यो सिक्का सन् १३४४ को पालाको थियो र जम्मा सात महिनामा मात्र चल्तीमा रह्यो । राजा एडवर्ड तृत्तीयले व्यापार प्रवर्द्धनका लागि सुनको मुद्रा पनि चल्तीमा ल्याएका थिए । अनौठो त के भने, कार्टरले फेला पारेको सिक्का जम्मा पाँच वटा मात्र बनाइएको इतिहास रहेछ ।

सिक्का लिलामीपछि कार्टरको जीवन बदलिएको छ । कार्टरको उदार हृदय, उनले घोषणा गरेका छन्, ‘सिक्का लिलामीबाट आएको रकम म ती किसानसँग भागबण्डा गर्नेछु, जसको खेतमा यो सिक्का फेला पर्‍यो ।

१०२ वर्षीया हजुरआमा भाइरल

बुढ्यौलीले मानिसलाई कमजोर बनाउँछ । उनीहरूलाई सहारा चाहिन्छ । अधिकांश मानिस ६० वर्ष पार हुनासाथ छडी लिएर हिँड्न थाल्छन् । उनीहरूलाई सामान्य काम गर्न पनि कठिन हुन थाल्छ ।

तर कतिपय यस्ता मानिस हुन्छन्, जो बुढेसकाललाई पनि चुनौती दिन्छन् । नपत्याए १०२ वर्षीया यी महिलालाई हेरौं । उनी आफ्नो लागि आफैं खाना पकाउन सक्छिन् ।

हालै एक ट्विटर प्रयोगकर्ताले यो तस्बिर सार्वजनिक गर्नासाथ रातारात भइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा हजुरआमाले चिकन परिकार बनाइरहेको यो तस्बिर देखेपछि हजारौं युजरले उनको प्रसंसा गरेका छन् ।

संगीत समीक्षक ट्विटर युजर @craigspoplife ले यो तस्बिर शेयर गर्दै लेखेका थिए, ‘मेरी १०२ वर्षीया हजुरआमा दिउँसोको भोजनका लागि थोरै चिकन फ्राइ गर्दै थिइन् ।’

यो तस्बिरको अहिलेसम्म साढे तीन लाखभन्दा बढी रि–ट्विट भइसकेको छ ।