तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु
तनहुँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।
महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए ।
‘महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ,’ उनले भने । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए ।
तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताए । तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो ।
कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया