NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । सुन्दरहरैचा नगरपालिका-८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले भने, ‘संघीयताको जग स्थानीय तह भएकाले जनताको आकांका अनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भने । उनले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन संघीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै त्यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो बताउँदै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र हो भने । प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने पनि बताए ।

लेटाङ घटनाका दोषीलाई कारबाही गरिन्छ

प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयवासीले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेको थियो ।

कार्यक्रममा सांसद गोपीबहादुर अछामी, रमेशजंग रायमाझी र भानुभक्त ढकालले यस क्षेत्रका जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले चार बिघा एक कट्ठा जग्गा क्षेत्रफलमा रु २७ करोडको लागतमा सो प्रशासनिक कार्यालय भवन निर्माण हुने जानकारी दिए । झन्डै तीन दशकअघि स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज हुनुपर्ने माग पनि उनले गरे ।

उपप्रमुख धनमाया तामाङले यो नगरपालिकामा मिश्रित समुदाय र धर्मका मानिसहरु बसोबास गर्ने भएकाले यहाँको सौन्दर्य नै समाजिक सद्भाव बलियो भएको बताइन्  ।

यसैगरी, प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैचा नगरपालिका-१ स्थित नवनिर्मित नगर अस्पतालको उद्घाटन गरे ।