NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चिनियाँ जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको आशंका

काठमाडौं । चीनमा सोमबार १३३ यात्रु बोकेको चिनियाँ इस्टर्न एयरलाइन्सको बोइङ ७३७ दक्षिणी प्रान्त ग्वाङ्सीको पहाडी इलाकामा दुर्घटना भएको छ । विमानमा चालक दलका ९ सदस्यसहित १३३ जना भएको चीनको नागरिक उड्डयनले जनाएको छ ।

चीनको दक्षिणपश्चिम प्रान्त युनानको राजधानी सहर कुनमिङस्थित चाङसुई विमानस्थलबाट दिउँसो १ बजे ग्वाङझाओका लागि उडेको विमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो । विमान ३ बजे ग्वाङझाओ अवतरण गर्ने भनिएकाे थियाे ।

२९,१०० फिट उचाइमा उडिरहेको विमान अचानक खसेर आगलागी भएको थियो । दुर्घटना भएको विमानबाट जिवितै उद्धार गर्ने सम्भावना नभएको चाइना इस्टर्न एयरलाइन्सलाई उधृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।

‘विमान आकाशबाट ठाडै खसेको देखिन्छ’ राज्य सञ्चालित बेइजिङ युथ डेलीले एक निवासीलाई उद्धृत गरेको छ । दुर्घटनास्थलमा विमानका अवशेष, यात्रुका कार्ड, पर्सहरु यत्रतत्र छरिएको देखिएका छन् । राज्य मिडियाका अनुसार घटनास्थलमा सयौं अग्निनियन्त्रक, अर्धसैनिक बलहरू केही कुकुरसहित पुगेका छन् । त्यहाँ पुगेका सैनिकहरुले स्थिति ‘भयानक’ रहेको भनेका छन् । आगलागी देखेपछि स्थानीय गाउँले पनि सहयोग गर्न पुगेका थिए ।

दुर्घटनास्थल पुग्न सानो बाटो र तीनतिरबाट पहाडले घेरिएकाले भौगोलिक जटिलता रहेको छ । साथै त्यस क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले विमान दुर्घटनाकाे कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सले बोइङ ७३७-८०० विमानमार्फत दिँदै आएको सेवा स्थगित गरिएको छ । एयरलाइन्सले दुर्घटनापछि आफ्नो वेबसाइटलाई ब्ल्याक एन्ड ह्वाइटमा बनाएको छ र विमानमा सवार परिवारका लागि आपतकालीन सहायता फोन नम्बर खोलेको छ ।

विमानले सन् २०१० बाट उडान सुरु गरेको थियो । चाइना इस्टर्न चीनका तीन प्रमुख एयरलाइन्स मध्ये एक हो र यसले दर्जनौं आन्तरिक र अन्तर्राष्ट्रिय रुटमा उडान गर्छ ।

यसअघि चीनमा व्यवसायिक विमान सन् २०१० मा दुर्घटना भएको थियो । हेनान एयरलाइन्सले उडाएको एम्ब्रेयर व्यापारिक विमानको अन्तिम दुर्घटना द्दण्ज्ञण् मा भएको थियो, जब हेनान एयरलाइन्सले उडाएको एम्ब्रेयर ई १९० क्षेत्रीय जेट भिजिबिलिटी कमजोर भएका कारण यिचुन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको थियो । त्यहाँ जहाजमा रहेका ९६ मध्ये ४४ जनाको मृत्यु भएको थियो ।