NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बुढेसकालमा सहाराविहीन ९६ वर्षीय थापा दम्पती

काठमाडाैं । बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उनकी श्रीमती खिरकुमारी थापा साहारा विहीन बनेका छन् ।

९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै सुखको महसुस गर्न नसेका खड्गबहादुरले विरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि श्रीमती खिरकुमारीले नमानेपछि अहिलेसम्म बाँचेको सुनाए । ‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,’ उनले भने, ‘यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भनेँ तर उनी मान्दैमानिनन् र अहिलेसम्म बाँचिएको छ ।’

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महसुस गर्न सकिन्छ । लट्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध, दही ल्याएर खाने गर्नुभएका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर सहाराको बन्धन (श्रीमती) आफूभन्दा पहिला छुट्लिन् (मृत्युहोला) कि भन्ने चिन्ताले थापा पिरोलिइरहन्छन् ।

सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न) । आफ्नै भाइको गोठमा बुढेसकालका दिनहरु बिताइहेका थापा दम्पतीका सन्तान छैनन् । विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने (अपांगता भएकी) छन् । बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरु दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गर्छन् । ३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेर बस्नुभयो तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) उकुच बनेर चहराइरह्यो, दुखी रह्यो ।

३८ वर्षअघिको अवस्था सम्झँदै थापाले भने, ‘घर पनि थियो, कमाई खान अलिअलि सम्पत्ति पनि थियो, तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा (तराई) गएँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ ।’

थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ताको रकम पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ । ‘अहिलेसम्म बिरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन, बिरामी पर्ने हो भने यो रकमले के भ्याउँथ्यो र,’ थापाले भने । सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समयसमयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति अनि गाउँलेहरुबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

उनकी श्रीमती खिरकुमारीले पनि ८० वसन्त पार गरेका छन् । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम श्रीमती खिरकुमारीले नै गर्छन् । ‘शरीरमा थोरै तागत भएका बेला आफैँ काम गर्दै आएका छौँ,’ खिरकुमारीले भने ‘बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ ।’ खिरकुमारीले गहभरि आँसु खसाल्दै भने, ‘निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।’

पैसा नहुँदा क्यान्सर रोगको उपचारमा समस्यामा

म्याग्दीको बेनी नगरपालिका–२ की क्यान्सर पीडित ३२ वर्षीया मीना विक । विगत दुई वर्षदेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा घाँटीको क्यान्सर रोगको उपचार गराइरहेकी उनको उपचारकै क्रममा भएको सम्पत्ति पनि सकिएपछि अहिले आर्थिक अभाव उत्पन्न भएको छ ।

उपचारमा आर्थिक अभाव भएपछि अहिले उनी जीवन मृत्युको दोसाँधमा छट्पटाइरहनुभएको छ भने उनका परिवारले उपचारका लागि मनकारी व्यक्ति र सङ्घसंस्थाहरुसँग सहयोगको याचना गरेका छन् । बिरामी मीना पीडाले छट्पटाउँदै ओछ्यानमा सुतिरहेका छन् । उपचारकै क्रममा दुई वर्षको अवधिमा करिब ३० लाख खर्च भइसकेको र थप उपचारका लागि अझै २५ वर्ष भन्दा बढी रकम आवश्यक पर्ने र सो रकमको जोहो गर्न चिकित्सकले बताएपछि समस्या उत्पन्न भएको पीडित मीनाका दाजु विनोद विश्वकर्माले जानकारी दिए ।

‘भएको सम्पत्ति सबै उपचारका क्रममा सकियो, अब हामीसँग केही छैन, घरको अवस्था अत्यन्त नाजुक छ, अब मनकारी सहयोग दाताहरुको हातमा नै बहिनीको जीवन अडेको छ,’ उनले भने । उनले स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरु, म्याग्देली संघसंस्थाहरु र परोपकारका क्षेत्रमा कार्यरत निकायहरुलाई सहयोगको अपिल गरेका छन् ।

उनको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरुले एनसिसी बैंकमा भिनाजु यमप्रसाद विश्वकर्माका नाममा रहेको खाता नै ११८००००००५७० वि मा सहयोग रकम जम्मा गर्न सक्नुहुने परिवारजनले जनाएका छन् । त्यसैगरी ज्यामरुककोट सेवा समाजले पनि उनको उपचारका लागि आर्थिक सहयोगको आह्वान गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष