जिम्मेवारी छाडेर पाँच प्रहरी सम्पर्कविहीन
काठमाडौं । पाँच प्रहरी खटाइएको स्थानमा हाजिर नभई सम्पर्कविहीन बनेका छन् । तोकिएको कार्यालयमा हाजिर नभएपछि सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनको समय दिएको छ ।
गत कात्तिकदेखि माघसम्म गैरहाजिर हुने प्रहरीको संख्या ५ छ । उनीहरूमध्ये एक प्रहरी हवल्दार र बाँकी प्रहरी जवान हुन् ।
गैरहाजिर हुने प्रहरीहरूमा वाग्मती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नं. ३ हेटौंडामा कार्यरत प्रहरी हवल्दार हरिबहादुर भट्टराई र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी जवान वसन्त चन्द छन् । उनीहरू क्रमशः गत माघ १० र पुस ८ देखि सम्पर्कबाहिर छन् ।
त्यसैगरी, प्रहरी जवानहरू गौतम केसी, भुवन भण्डारी र कमल विष्ट पनि बिना जानकारी गैरहाजिर छन् ।
आफू खुसी कार्यालयमा गैरहाजिर रहेका यी प्रहरीको खोजतलास गर्दा सम्पर्कमा नआएपछि हाजिर हुने सूचना जारी गरेको प्रधान कार्यालयले जनाएको छ । सन्तोषजनक कारणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रधान कार्यालयले गरेको छ । प्रहरी नियमावली, २०७१ को नियम ११३(१) को खण्ड (च) मा बिना जानकारी गैरहाजिर कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान छ ।
नेपाल प्रहरीमा बिना जानकारी गैरहाजिर हुने रोग पुरानै हो । खासगरी तल्लो दर्जाका प्रहरी अधिकारी सेवाबाट पलायन हुने गरेका छन् । न्यूनतम वेतन, पेन्सन अवधि यसको मूल कारण भएको बताइन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया