NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
स्थानीय निर्वाचन विशेष

ओलीको गृहनगर दमक : एमाले–राप्रपा मिले गठबन्धनलाई चुनाव फलामको च्युरा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माओवादीका नेता राम कार्कीजस्ता चर्चित नेताहरूको जिल्ला हो, झापा । त्यसैले निर्वाचनमा धेरैको नजर यो जिल्लामा पर्छ । दमक नगरपालिकामा केपी शर्मा ओलीको गृहनगर भएकाले यसमा धेरैको चासो छ । वैशाख ३० को डेटलाइन नजिकिरहँदा दलहरू चुनावकेन्द्रित गतिविधि सञ्चालन गरिरहेका छन् ।

झापाको १५ स्थानीय तहमध्ये महत्त्वपूर्ण नगरपालिका मानिएको दमक नगरपालिकामा मुख्यतः एमाले, राप्रपा, कांग्रेस र माओवादीबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । दमक विगतदेखि नै राप्रपा प्रभावित क्षेत्र हो । राप्रपा अध्यक्षमा लिङ्देन विजय भएसँगै उनको लोकप्रियता बढेकाले त्यसको प्रभाव आगामी चुनावमा पर्न सक्ने ठानिएको छ ।

२०७४ को चुनावमा दमक नगरपालिकामा प्रमुख र उप–प्रमुख एमालेले जितेको थियो । राप्रपा दोस्रो, माओवादी केन्द्र तेस्रो र नेपाली कांग्रेसले चौंथो स्थानमा सीमित भएका थिए ।

मेयरमा ओलीनिकट रोमनाथ ओली १० हजार ८०६ मत ल्याएर प्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रामकुमार थापाले ७ हजार ६५५ मत ल्याएका थिए । माओवादीका रेवतराज पुरीले ६ हजार ८९८ र कांग्रेसका ढुण्डीराज भण्डारीले ५ हजार ५३९ पाएका थिए ।

एमालेले दमकमा राप्रपासँग चुनावी तालमेल गर्ने अनि गठबन्धन दलचाहिँ अलग–अलग उम्मेदवार लिएर मैदानमा खडा हुँदा परिणाम कांग्रेस–माओवादीको चाहनाविपरीत आउने देखिन्छ । त्यसैले एमालेको अपराजित यात्रा रोक्नकै निम्ति भए पनि यहाँ कांग्रेस–माओवादीलाई संयुक्त उम्मेदवार खडा गरेर प्रतिस्पर्धा गर्नैपर्ने बाध्यता छ

उप–प्रमुखमा एमालेकी गीताकुमारी पौडेलले १२ हजार ६२५ मत ल्याएर जित दर्ता गरेकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रंगिना भट्टराई ८ हजार ९१२,राप्रपाकी रीताकुमारी बस्नेतले ४ हजार ४९८ र माओवादी केन्द्रका शान्तिदेवी धिमालले ४ हजार ३७४ मत ल्याएका थिए ।

त्यस्तै, १० वडा रहेको यस नगरपालिकामा १ नम्बर वडामा राप्रपाका ताराप्रसाद अधिकारीले ८०७ मत ल्याई जित निकालेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद न्यौपानेले ८००, कांग्रेसका पदम बहादुर बुढाथोकीको ४९४ र माओवादीका तीर्थराज बस्नेत ४९३ मतमा रोकिए ।

२ नम्बर वडामा एमालेका प्रजापति सापकोटाले ११५२ मत ल्याई जित दर्ता गर्दा माओवादी केन्द्रका रुद्रबहादुर कार्की ७७१, राप्रपाका विजयप्रसाद बराल ७४८ र कांग्रेसका प्रथमबहादुर धिमाल ६५० मत हासिल गरेका थिए ।

वडा नम्बर ३ मा एमालेका नवीन बराल २०३३ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका महेन्द्रसिंह निरौला ९२९, राप्रपाका नैनबहादुर भण्डारीले ६८९, स्वतन्त्रका तेजस्वी थेबेले ५५० र माओवादीका नरहरि दाहालले २३४ मत पाएका थिए ।

४ नम्बर वडामा एमालेका कुमार साम्सोहाङले १५६२ मत ल्याई वडाध्यक्षमा विजयी भएका थिए । कांग्रेसका राजेन्द्र भट्टराईले १०६२, माओवादीका मानबहादुर श्रेष्ठ ५३६ र राप्रपाका यिसुराज दाहालले ३८८ मत ल्याएका थिए ।

ओली निवाससमेत रहेको ५ नम्बर वडामा एमालेका इन्द्रबहादुर गुरुङ दोब्बर बढी १४६७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेम भट्टराईले मात्रै ७२३ मत पाए । माओवादी र राप्रपाको उपस्थिति यो वडामा निकै कमजोर देखिएको थियो ।

वडाध्यक्षमा खडा माओवादीका प्रेमप्रसाद विमलीले ४२० र राप्रपाका बासुदेव भट्टराईले २८६ मत पाए ।

त्यस्तै, वडा नम्बर ६ मा एमालेका टेबबहादुर थापाले ९४४ मत ल्याई जित हासिल गरेका थिए । कांग्रेसका पुण्यप्रसाद ढुुंगानाले ४७४, राप्रपाका कुमार निरौलाले ४६५ र माओवादी केन्द्रका मेहेरमान लिङ्देनले २४१ पाएका थिए ।

७ नम्बर वडामा राप्रपाका भीमप्रसाद पौडेलले ९६० मत ल्याएर विजयी भएका थिए । एमालेका नर्वदादेवी शिवाकोटीले ५४०, माओवादीका गुमानसिंह तामाङले ४८९, स्वतन्त्रका चन्द्रबहादुर थापाले १८० र कांग्रेसका गोविन्दबहादुर दर्जीले १५५ मत पाएका थिए ।

वडा नं. ८ मा एमालेका पशुपतिराज गौतम १०६७ ल्याई विजयी हुँदा कांग्रेसका रवि न्यौपाने खत्रीले ६५०, माओवादीका सन्तकुमार राईले ४८६, राप्रपाका वीरबहादुर चम्लागाईंले ३३८ र स्वतन्त्र उम्मेदवार हेमराज सुवेदी ३३२ मतमा रोकिए ।

९ नम्बर वडामा एमालेका रामबहादुर धिमाल १३६८ मतले विजयी भएका थिए । उनलाई नजिकबाट पछ्याएका कांग्रेसका सोमराज तामाङले ९५३ कटाउन सकेनन् भने माओवादीका देवीप्रसाद अधिकारीले ६४५ र राप्रपाका भक्तबहादुर निरौलाले ५११ मत ल्याएका थिए ।

त्यस्तै, वडा १० मा एमालेका बोधराज न्यौपाने ९५१ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका देवीप्रसाद दाहालले ८७० ल्याई दोस्रो, राप्रपाका खगेन्द्रबहादुर भट्टराई ५८९ मतका साथ तेस्रो र माओवादीका गंगाराज धिमालले २०३ मत ल्याई चौंथो स्थानमा रहेका थिए ।

अघिल्लो स्थानीय तह निर्वाचन पाँच वर्षअघि भएको थियो । यो अवधिमा धेरै परिवर्तन भएका छन् । एकीकृत भएर अघिल्लोपटक चुनाव लडेको स्वयं एमाले नै दुई चिरामा विभाजित बनेको छ । नेकपा छिन्नभिन्न भएको छ । त्यसैले पाँच वर्षअघिको मतसँग तुलना गरेर आगामी निर्वाचनको परिणाम ठ्याक्कै यस्तो आउँछ भनेर अनुमान गर्न कठिन छ । तथापि, अघिल्लो निर्वाचनको परिणामलाई केलाएर अनुमान गर्न भने सकिन्छ ।

दमक नगरपालिकामा यसअघि भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई केलाउँदा यसपटक मुख्य प्रतिस्पर्धा प्रमुख राजनीतिक दलबीचमै हुने देखिन्छ । गत चुनावमा एमालेका उम्मेदवार रोमनाथ ओलीले ३ हजार १५१ को फराकिलो मतान्तरले जितेका थिए ।

ओलीले १० हजार ८०६ मत ल्याउँदा राप्रपाका थापाले ७ हजार ६५५ मत रहेको थियो । एमाले विभाजन भएकाले त्यसको सिधा असर पर्नुपर्ने हो । तर एमाले नेताहरू माधवकुमार नेपाल समूहको उपस्थिति यो नगरमा नरहेकाले शून्य असर पर्ने दाबी गर्छन् ।

राजेन्द्र लिङ्देन अध्यक्ष बनेकाले यो क्षेत्रमा राप्रपाको लोकप्रियता केही बढेको छ । त्यसको असर स्वाभाविक रूपमा वैशाख ३० का दिन मतपेटिकामा पर्ने नै छ ।

गत चुनावमा माओवादीका पुरीले ६ हजार ८९८ र कांग्रेसका भण्डारीले ५ हजार ५३९ मत पाएका थिए । एमालेले दमकमा राप्रपासँग चुनावी तालमेल गर्ने अनि गठबन्धन दलचाहिँ अलग–अलग उम्मेदवार लिएर मैदानमा खडा हुँदा परिणाम कांग्रेस–माओवादीको चाहनाविपरीत आउने देखिन्छ । त्यसैले एमालेको अपराजित यात्रा रोक्नकै निम्ति भए पनि यहाँ कांग्रेस–माओवादीलाई संयुक्त उम्मेदवार खडा गरेर प्रतिस्पर्धा गर्नैपर्ने बाध्यता छ ।