निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री
![निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री](https://nepalwatch.com/wp-content/uploads/2022/03/ROS_ktm_pmdeuba-1-scaled.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताए । उनले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा नीजि क्षेत्रको सहयोग पनि अपरिहार्य भएको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले स्थानीय तहलाई विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारद्वारा निर्माण भएका विकास सम्बन्धी अधिकांश काम राम्रो, छिटो र गुणस्तरी रहेको बताए ।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउँदै भिमसेन मन्दिर पनि निजी क्षेत्रको सहयोगमामा निर्माण भएकाले अन्य मठमन्दिर पनि नेपाली मौलिक झल्कने खालको बनाउनुपर्नेमा जोड दिए ।
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग बाणिज्य सङ्घको अगुवाइमा भएको हो र यसमा ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछयोंले २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिर पाँच वर्ष लगाएर पहिलेकै शैलीमा निर्माण गरिएको जानकारी दिए ।
उनका अनुसार करिब रु चार करोड ९७ लाखको लागतमा निर्माण गरिएको मन्दिर महानगपालिकाले रु एक करोड, एभरेष्ट बैक र इन्भेष्टेमेन्ट बैकले एक/एक करोड तथा स्थानीय श्रमदानमा निर्माण गरिएको हो । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको बताइएको छ ।
प्रतिक्रिया