NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

उद्घाटन खेलमा कोलकत्ताले चेन्नईलाई हरायो, आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।

मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले विजयी सुरुवात गरेको हो ।

वान्खडे रंगशालामा चेन्नईले दिएको १३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा अजिन्क्य राहाणेले ४४, साम विलिङसले २५ र कप्तान श्रेयस ऐयरले अविजित २०, नितिश राना २१ तथा भेन्कातेस एयरले १६ रन बनाए ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन ।

यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

चेन्नईका लागि पूर्वकप्तान महेन्द्रसिंह धोनीले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ खेले भनेरोबिन उथप्पाले २८ र कप्तान रवीन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु भने १५ रनमा आउट भए ।

कोलकत्ताका लागि उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १-१ विकेट लिए ।

यो जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।

हारबाट प्रतियोगिताको सुरुवात गरेको चेन्नई भने अंकविहीन छ ।

आइपिएलमा आइतबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई बीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । यी दुई बीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

यसपटकको आइपिएलमा १० टोलीको सहभागिता रहेको छ । यसअघि ८ टोलीमात्र थिए ।