प्रतिफलयोग्य परियोजना बनाउन अर्थमन्त्रीको शर्माको निर्देशन

काठमाडौं । लगानी बोर्डको कार्यालय र उद्योग वाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने विषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार बिहान हस्ताक्षर गरेका हुन् ।
लगानी बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिए । उनले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानून, काम गर्ने व्यवहारलगायतमा संशोधन गर्नुपर्ने बताए । ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै उनले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने बताए ।
‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्काशन (आइपिओ) ग-यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उनले भने, ‘त्यसैले स्वदेशबाटै पँुजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’
उनले जलविद्युत परियोजनामा स्वदेशी तथा विदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख कारण भएको बताउँदै अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिन सके लगानीका लागि खासै समस्या भोग्नुनपर्ने बताए । ‘आफैं ऋण तिर्न सक्षम परियोजना छनौट ग¥यौं भने त्यो ऋण परियोजनाले नै तिर्छ, जनतालाई अनावश्यक भार पर्दैन । त्यसैले यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्छ’ उनले भने ।
उनले सरकार-निजी क्षेत्र साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रलाई आग्रह गरे । उनले लगानीको वातावरण बढाई ‘डुइङ बिजनेस’ मा थप सुधार गर्नुपर्ने धारणा राखे । लगानीकर्तालाई छिटो र छरितो ढंगले सहजीकरण गर्न बोर्डलाई उनले निर्देशन दिए । विदेशी लगानी ल्याउँदा प्रविधि पनि सँगै भित्र्याउने सर्त राख्न उनले निर्देशन दिए । ‘हामीले लगानी भित्र्याउँदा अब विकसित देशको प्रविधि पनि ल्याउनतर्फ ध्यान दिनुपर्छ । प्रविधि ल्याइयो भने हाम्रो निजी क्षेत्र बलियो हुन्छ’ उनले भने ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ३ खर्बको परियोजना निर्माण प्रकृयामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिएका थिए । उनले बुझाइृमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने बताए । अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजीकरण गर्ने समय छोट्याएको जानकारी दिएका थिए ।
उनले कुन क्षेत्र र कुन परियोजनमा विदेशी लगानी चाहिने वा नचाहिने भन्ने बारे अध्ययन गरेर निष्कर्षमा पुग्नका लागि सबैलाई आह्वान गरे ।
प्रतिक्रिया