NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ३ गते

पोखरा महानगरमा एमाले बलियो, तर सत्ता गठबन्धन र पार्टी विभाजनको डर

काठमाडौं । पोखरा महानगरपालिकामा पनि स्थानीय तह चुनावको सरगर्मी बढ्न थालेको छ । चुनावको मिति नजिकिँदै गर्दा दलहरूले प्रचार अभियान सुरु गर्न थालेका छन् । सत्तागठबन्धन र प्रतिपक्ष दल चुनावी रणनीति बनाउन व्यस्त छन् । दलहरू एक्लाएक्लै चुनावमा होमिन्छन् वा तालमेल गर्छन् भन्ने स्पष्ट चित्र नदेखिएकाले भावी परिणामको आकलन गर्न पनि सहज देखिएको छैन ।

मुख्य पर्यटकीय नगरी रहेको पोखरा महानगरपालिका क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो स्थानीय तह हो । साबिकको लेखनाथ नगरपालिकासमेत गाभेर पोखरा महानगरपालिका बनेपछि यसको आकार निकै ठूलो भएको छ । पोखरा कास्की जिल्लाको सदरमुकामका साथै गण्डकी प्रदेशको राजधानी पनि हो । त्यसैले दलहरूले पोखरा महानगरको नेतृत्व आफ्नो पक्षमा पार्न कसरत तीव्र पारेका छन् ।

०७४ को मतपरिणामलाई फर्केर हेर्दा

०७४ को निर्वाचनमा पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी ६० हजार एक सय १८ मत प्राप्त गरी विजयी भएका थिए । कांग्रेस र माओवादीको तालमेलले पनि जिसीलाई रोक्न सकेन । संयुक्त प्यानलबाट मेयरमा उम्मेदवार बनेका कांग्रेसका रामजी कुँवरले ४६ हजार चार सय १६ मत प्राप्त गरे । कुँवरको भन्दा जिसीले १३ हजार सात सय दुई मत बढी ल्याएका थिए ।

तत्कालीन समाजवादी फोरमका हुमबहादुर गुरुङले तीन हजार एक सय ७० र राप्रपाका गीता गुरुङले दुई हजार दुई सय ७२ मत पाएका थिए ।

गत निर्वाचनमा एमालेका उम्मेदवार ठूलो मतान्तरले विजयी भएकाले सत्तागठबन्धनमा आबद्ध दललाई पोखरा महानगरमा फेरि पनि तालमेल गर्नुपर्ने बाध्यता छ । किनकि महानगरमा गठबन्धन गर्दासमेत एमाले अगाडि देखिन्छ । यसपटक पनि गठबन्धनका तर्फबाट साझा उम्मेदवार उठाउने सम्भावना बढी छ ।

त्यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार चार सय ४८ मत प्राप्त गरेर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार तीन सय ३८ मत पाइन् । कांग्रेस र माओवादीको गठबन्धन भए पनि कर्यान्वयन हुन सकेन । उपमेयरमा दुवै दलले उम्मेदवारी दिए । उपमेयरमा माओवादीकी गोमा ढकालले आठ हजार सात सय ९६ मत ल्याइन् । राप्रपाका रमेशबहादुर खत्रीले दुई हजार आठ सय ४० र स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले दुई हजार एक सय ९९ मत पाएका थिए । ३३ वडा रहेको पोखरा महानगरका बहुमत अध्यक्षमा पनि एमालेका उम्मेदवारले जितेका छन् । एमालेले २१ वटामा वडाध्यक्ष जित्दा कांग्रेसका उम्मेदवार १२ वडामा विजयी भए । माओवादीलगायत अन्य कुनै पनि दलले वडामा चुनाव जित्न सकेनन् ।

कांग्रेस–माओवादीलाई गठबन्धनकै भर

गत निर्वाचनमा एमालेका उम्मेदवार ठूलो मतान्तरले विजयी भएकाले सत्तागठबन्धनमा आबद्ध दललाई पोखरा महानगरमा फेरि पनि तालमेल गर्नुपर्ने बाध्यता छ । किनकि महानगरमा गठबन्धन गर्दासमेत एमाले अगाडि देखिन्छ । यसपटक पनि गठबन्धनका तर्फबाट साझा उम्मेदवार उठाउने सम्भावना बढी छ । ०७४ को परिणाम हेर्दा एमाले निकै बलियो देखिन्छ । तर, सत्तारुढ दल गठबन्धन बनाएर चुनावमा गए प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । किनकि यसपटक एमाले विभाजित भएको छ । तेस्रो बढी मत भएको समाजवादी फोरम पनि यसपटक सत्तागठबन्धनमा छ ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पनि गठबन्धनकै पक्षमा रहेकाले यसपटक पहिलेजस्तो एकतर्फी चुनाव नहुने स्थानीय विश्लेषक बताउँछन् । पाँच दलबीच गठबन्धन बनेमा पोखरा महानगरमा एमालेलाई आफ्नो वर्चस्व जोगाउन ठूलो कसरत गर्नुपर्नेछ । अघिल्लो चुनावमा कांग्रेस र माओवादीबीच तालमेल भनिए पनि पूर्ण रूपमा कार्यान्वयन भएको थिएन । त्यसको फाइदा पनि एमालेले उठाएको थियो ।

यसपटक सत्तारूढ पाँच दल (कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा) बीच गठबन्धन भएमा पोखरामा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, दलहरूले कस्ता उम्मेदवार अघि सार्छन् र थपिएका मतदाता धेरै कता लाग्छन् भन्नेले पनि चुनावी परिणाम प्रभावित हुन सक्छ । पोखरा महानगरमा अघिल्लो चुनावभन्दा यसपटक करिब ४० हजार मतदाता थपिएका छन् ।

गठबन्धनबाट मेयरमा कांग्रेसको दाबी, दलहरू व्यस्त

सत्तारुढ दलहरूबीच गठबन्धन हुने–नहुने अझै निश्चित भइसकेको छैन, तर महानगरको मेयरमा कांग्रेसले नछोड्ने स्पष्ट पारिसकेको छ । उसले सोहीअनुसार मतदाता प्रभावित पार्ने गरी टोलटोलमा संगठन विस्तारका कार्यक्रम गरिरहेको छ । ०७४ को चुनावमा पनि कांग्रेस र माओवादीबीच पोखरामा चुनावी तालमेल भए पनि उपमेयरमा कांग्रेसले उम्मेदवार खडा गर्दा बिग्रेको थियो । यसपटक माओवादीले उपमेयरमै दाबी गरेको छ । एमाले पनि एक्लै लड्ने भन्दै चुनावी अभियानमा जुटेको छ । जनता समाजवादी, विवेकशील साझा पार्टीका नेता–कार्यकर्तालाई एमालेले आफूतिर तानिरहेको छ । फागुनमा मात्र एमाले अध्यक्ष केपी शर्मा ओली दुईपटक पोखरा पुगेर चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

एकीकृत समाजवादीले पनि चुनावी अभियानलाई अगाडि बढाइरहेको छ । एमालेले कार्यकर्ता तान्न खोजेपछि समाजवादीले सभा र भेला गरेर भन्दा पनि गोप्य रूपमा संगठन विस्तार गरिरहेको छ ।

दल विभाजन र त्यसको असर

कांग्रेसबाहेकका अधिकांश दल विभाजित भएकाले पोखरा महानगरमा त्यसको असर परेको छ । सबैभन्दा ठूलो दल एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको प्रभाव पोखरामा सामान्य छ । तर, एकीकृत समाजवादीले महानगरमा तेस्रो पार्टीको हैसियतमा मत रहेको दाबी गरेको छ ।

समाजवादीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले बाहिर हल्ला गरिएजस्तो पार्टी कमजोर नरहेको दाबी गरे । एमालेसँग भन्दा कम भए पनि २० हजार मत आफ्नो पक्षमा रहेको उनको दाबी छ । पोखरामा ठिकै प्रभाव भएको जनता समाजवादी पनि विभाजित भएको छ । यद्यपि, नयाँ दल लोकतान्त्रिक समाजवादीको पोखरामा प्रभाव देखिएको छैन ।

०४९ देखिको चुनावी इतिहास

०४९ सालको स्थानीय निकायको चुनावमा तत्कालीन पोखरा नगरपालिकामा कांग्रेसबाट भोला थापाले मेयरमा जितेका थिए । पोखरा उपमहानगर बनेपछि ०५४ को निर्वाचनमा एमालेका कृष्ण थापा निर्वाचित भए । र महानगर बनेपछि ०७४ मा एमालेका मानबहादुर जिसी मेयर बने ।

विश्लेषकको नजरमा चुनावी परिणाम

महानगरको नेतृत्वमा कुन पार्टीको उम्मेदवार जित्छ या हार्छ भन्ने निर्वाचनको परिणामले देखाउला । तर, निर्वाचनमा हार र जितका पछाडि केही सैद्धान्तिक र व्यावहारिक विषय जोडिएका हुन्छन् । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका उपप्राध्यापक एवं अधिवक्ता कपिलमणि दाहाल राजनीतिक दलको घोषणापत्र नै मतदान गर्ने सैद्धान्तिक आधार रहेको बताउँछन् । घोषणापत्रअनुसार काम नगर्ने राजनीतिक नेतृत्वको कारण पछिल्लो समय मतदातामा चरम निराशा पैदा भएको उनको भनाइ छ ।

दाहालले भने, ‘अबको स्थानीय निर्वाचनमा घोषणापत्र मात्र मत माग्नका लागि पर्याप्त छैन, उम्मेदवारका ठोस प्रतिबद्धता र विश्वास पनि मतदाताले खोजेका छन् । पार्टी राजनीति भएकाले निरन्तर एउटै पार्टीलाई भोट दिने संख्या ठूलो छ, तर हारजितमा अनेक फ्याक्टरले काम गर्छ ।’ दलहरूबीचको चुनावी गठबन्धन, उम्मेदवार छनोट र आदर्शका नारा पनि निर्वाचनमा हारजितका लागि मुख्य फ्याक्टर हुन सक्ने उनको बुझाइ छ ।

जनसंख्या र मतदाता

०७८ को जनगणनाअनुसार पोखरा महानगरको जनसंख्या पाँच लाख १८ हजार चार सय ५२ पुगेको छ । ०६८ को भन्दा एक लाख चार हजार तीन सय ११ जनसंख्या बढेको छ । ०७३ फागुन २७ गते पोखरालाई महानगरपालिका घोषणा गरिएको थियो । देशकै ठूलो महानगर रहेको पोखराको क्षेत्रफल ४६४.२४ वर्गकिलोमिटर छ ।

महानगरको पूर्वी सिमानामा मादी र रूपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वत र स्याङ्जा जिल्ला रहेका छन् । उत्तरी सिमानामा माछापुच्छ्रे मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला छन् । पोखरा महानगरमा ०७४ को निर्वाचनमा एक लाख ६८ हजार ६९ मतदाता थिए । अहिले महानगरमा मतदाताको संख्या पनि बढेको छ । अहिले ३९ हजार ६ सय ३८ मतदाता थपिएर दुई लाख सात हजार सात सय पाँच पुगेको छ ।