कतार विश्वकपमा छनोट हुने देशको संख्या २७ पुग्यो (सूचीसहित)

काठमाडौं । यसै वर्ष कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि छनोट हुने देशको संख्या २७ पुगेको छ ।
गएराति पोर्चुगल, पोल्याण्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन गरी ७ टोली छनोट भएसँगै संख्या २७ पुगेको हो ।
गएराति घरेलु मैदानमा भएको युरोपियन क्षेत्रको प्ले अफमा उत्तरी मेसेडोनियालाई २–० ले हराउँदै पोर्चुगलले विश्वकपका लागि टिकट काटेको हो ।
यस्तै, पोल्याण्डले पनि घरेलु मैदानको फाइदा उठाउँदै स्विडेनलाई २–० गोल अन्तरले पाखा लगाउँदै विश्वकपमा स्थान बनायो ।
यसैगरी, इजिप्टलाई पेनाल्टीमा पाखा लगाउँदै सेनेगल विश्वकपका लागि छनोट भएको छ ।
विश्वकपको अफ्रिकी छनोटअन्तर्गत गएराति भएको प्ले अफको दोस्रो लेगमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै घरेलु टोली सेनेगल विश्वकपमा छनोट भएको हो ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा इजिप्टले १–० को जित निकालेको थियो । यसर्थ, समग्रमा खेल १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको हो ।
गएराति नै भएका अन्य प्ले अफ खेलमा क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विजयी हुँदै अफ्रिका क्षेत्रबाट विश्वकपमा छनोट भएका छन् ।
क्यामरुनले अल्जेरियालाई अवे गोलका आधारमा हराउँदै विश्वकपमा प्रवेश गरेको हो भने घानाले पनि नाइजेरियालाई अवे गोलकै आधारमा पाखा लगाउन सफल भयो ।
पहिलो लेगमा घरेलु मैदानमा १–० ले पछि परेको क्यामरुन अवे मैदानमा २–१ को नतिजा निकाल्न सफल भयो ।
यस्तै, घाना पनि घरेलु मैदानमा नाइजेरियासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर अवे मैदानमा १–१ को बराबरी गरेपछि विश्वकपमा छानिएको हो ।
यसैगरी मोरक्कोले भने घरेलु मैदानमा भएको दोस्रो लेगमा गणतन्त्र कंगोलाई ४–१ ले पाखा लगाउँदै विश्वकपमा छनोट भएको हो । यसअघि यी दुई बीचको पहिलो लेग १–१ को बराबरमिा रोकिएको थियो । मोरक्कोले समग्रमा ५–२ को नतिजा निकाल्यो ।
ट्युनिसिया भने घरेलु मैदानमा मालीसँग गोलरहित बराबरी खेल्नका बाबजुद विश्वकपमा छनोट भएको छ । यसअघिको अवे खेल मोरक्कोले १–० ले जितेको थियो ।
यससँगै विश्वकप २०२२ मा छनोट हुने राष्ट्रको संख्या २० पुगेको छ ।
यसै हप्ता क्यानडा, उरुग्वे, इक्वेडर, जापान र साउदी अरेबिया पनि विश्वकपका लागि छनोट भएका थिए ।
उरुग्वे र इक्वेडर दक्षिण अमेरिका तथा जापान र साउदी अरेबिया एसियाबाट छनोट भएका हुन् भने क्यानडा उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रबाट छनोट भएको हो ।
यसअघि इरान एसियाबाट छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको थियो । त्यसपछि दक्षिण कोरिया छनोट भएको थियो ।
३२ देश सहभागी हुने विश्वकपमा एसियाली राष्ट्र कतार भने आयोजकको रूपमा सन् २०१० मै खेल्ने निधो भइसकेको थियो । कतारले मतदानमा बाजी मार्दै आयोजक बनेको थियो ।
बाँकी ३१ देशमा युरोपबाट १३, एसियाबाट चार वा पाँच, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिकाबाट चार वा पाँच, उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन वा चार र ओसियानाबाट शून्य वा एक टोली छनोट हुन्छन् ।
यसको अर्थ दुई टोली अन्तरमहादेशीय प्ले अफबाट छनोट हुनेछन् ।
यस क्रममा युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्याण्ड, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल र पोल्याण्ड छनोट भएका छन् ।
दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे छनोट भएका छन् ।
यसैगरी, एसियाबाट आयोजक कतार, इरान, दक्षिण कोरिया जापान र साउदी अरेबिया छनोट भएका छन् ।
अब ५ देश छानिन बाँकी छन् ।
अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चार, अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुई–दुई तथा स्पेन र इंल्याण्डले एक–एकपटक विश्वकपको उपाधि जितेका छन् ।
छानिएका २७ देशको सूची :
१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्विया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे
२०. क्यानडा
२१. घाना
२२. सेनेगल
२३. पोर्चुगल
२४. पोल्याड
२५. ट्युनिसिया
२६. मोरक्को
२७. क्यामरुन ।
प्रतिक्रिया