NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमालेविरूद्ध गठबन्धन गर्नु छनोट होइन, बाध्यता हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन छनोट नभइ बाध्यता भएको टिप्पणी गरेका छन् ।

बुधबार स्थानीय तहको निर्वाचन प्रतिबद्धतापत्र तयारी कार्यशालालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष कमरेड केपी शर्मा ओलीले गठबन्धनका बारेमा टिप्पणी गरेका हुन् ।

‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ’, उनले भने, ‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुनिश्चित छ ।’

ओलीले एमालेले गरेको विकास निर्माणका कामलाई गाउँ–गाउँमा लिएर जान जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । चुनावी घोषणा तयारी गर्नका लागि अध्यक्ष ओलीले देशभर ७५३ स्थानीय तहका जनप्रनिनिधिसँग भर्चुअल छलफल गरेका छन् ।