NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चुनावी तालमेलविरोधी गगन र समर्थक विश्वप्रकाश : २०७० र २०७४ को चुनावमा कसको मत कति ?

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दलहरू स्थानीय तह केन्द्रित अभियानको तयारीमा छन् । प्रमुख प्रतिपक्षी दल एमाले अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन देशभर अभियान सञ्चालन गरिरहेको छ । यसबीचमा नेता तथा कार्यकर्ता, रंगकर्मी, विभिन्न पेशा–व्यवसायमा रहेकालगायत विभिन्न व्यक्तिहरूले दलबदल गर्ने क्रम तीव्र भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आ–आफ्नै हिसाबले चुनावी तयारीमा जुटेका छन् । यसैबीच सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले सत्तारुढ दलसँग चुनावी तालमेल गर्ने सैद्धान्तिक निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहमा निर्वाचनमा ७५३ मधये २५३ तह जितेको कांग्रेसले आफूले हारेको तहमा सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने घोषणा गरेको हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तीनै तहको चुनावमा कांग्रेससँग मिलेर जानुपर्नेमा जोड दिंदै आएका छन् ।

०७४ को स्थानीय तहको चुनावमा कांग्रेस–माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । माओवादीले अपेक्षा गरे अनुरूप नतिजा नआएपछि प्रदेश÷संघीय चुनावमा एमालेसँग देशभर चुनावी तालमेल र सहकार्य गरेको थियो । गत स्थानीय तहमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको थियो । प्रदेश/संघीय चुनावमा वाम गठबन्धनले प्रदेश २ बाहेक सबै प्रदेशरमा दुई तिहाइ र संघमा झण्डै दुई तिहाइ मत ल्याएको थियो ।

आगामी चुनावमा नेकपा हुँदै एमालेसमेत विभाजन भएकाले कांग्रेस पहिलो हुने दौडमा रहेको छ । एमालेले आफ्नो नेतृत्वको सरकारले गरेको काम, सत्तागठबन्धमा देखिएको अविश्वास र असन्तुष्ट पक्षलाई समेटेर विभाजनको क्षतिपूर्ति असुल्ने दाउमा छ । यसैले पनि कांग्रेसले सत्ता गठबन्धनलाई जोगाउँदै चुनावी तालमेल गरेर एमाले हराउने नीति लिएको छ ।

तर देशभर एमालेसँग एक्लै भिड्न सक्ने बलियो कांग्रेसमा चुनावी तालमेलको विषयलाई लिएर केन्द्रीय समितिको बैठकमा पेचिलो छलफलसमेत हुन पुग्यो । तालमेल गर्ने वा नगर्नेबारे सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापादेखि विश्वप्रकाश शर्मासम्म पक्ष र विपक्षमा रहेर बहस गर्न बाध्य भए ।

चुनावी तालमेल गरिए मात्रै एमालेलाई धेरै ठाउँमा हराउन सकिनेमा सभापति देउवा रहे । उनलाई नेता पौडेल, शर्मासहितका नेताको साथ रह्यो । सात मध्ये ५ प्रदेशका सभापतिले पनि स्थानीय आवश्यकतको आधारमा चुनावी तालमेलमा जोड दिए । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा ठूला र प्रभावशाली नेताले हार बेहोर्नुपरेको कांग्रेसमा केन्द्रीय सदस्य पनि अधिकांश तालमेलको पक्षमा देखिए ।

तर शेखर पक्षले निरन्तर केन्द्रको एकपक्षीय निर्णयमा तालमेल गर्न नहुने अडान लिइरह्यो । यसैले सबैलाई चित्त बुझ्नेगरी स्थानीय आवश्यकताको आधारमा सत्ता गठबन्धनमा आवद्ध दलसँग चुनावी तालमेलको नीतिगत निर्णय कांग्रेस केन्द्रीय समितिले लिएको छ । यही बेला जितेका गगन तालमेलको विपक्षमा र हारेका विश्वप्रकाश तालमेलको पक्षमा देखिएका हुन् । सभापति देउवालेसमेत आफू २०७४ सालमा बालबाल जितेको भन्दै कांग्रेसका धेरै नेतालाई जिताउन स्थानीय तहदेखि प्रतिनिधिसभासम्मै चुनावी तालमेललाई जोड दिए ।

तालमेलबारे प्रभावशाली नेता नै विभाजित

चुनावी तालमेलको पक्ष र विपक्षमा केन्द्रीय समितिमा बहसमा उत्रिनेमा १४ औं महाधिवेशनमाबाट महामन्त्रीमा निर्वाचितद्वय गगन थापा र विश्वप्रकाश शर्मा थिए । थापा काठमाडौं ४ बाट सांसदमा जितेका थिए । जितेका थापाले आफू चुनावी तालमेलको पक्षमा नभएको बताए । तर झापा १ बाट राम कार्कीसँग पराजित भएका विश्वप्रकाशले भने तालमेल गरेरै जानुपर्नेमा जोड दिए । एमाले र माओवादी मिलेर गत चुनाव लड्दा गगनले जित र शर्माले हार बेहोरेका थिए ।

मंसिरको अन्तिम साता काठमाडौंमा भएको कांग्रेसको १४ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि दुई नेताको उचाइ झनै चुलिएको छ । दुवै विद्यार्थी पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा सक्रिय छन् । शर्मा नेविसंघका सभापति हुन् भने थापा महामन्त्री हुन् । दुवै नेता कांग्रेसभित्र प्रखर, स्पष्ट वक्ताको रूपमा पार्टीभित्र र बाहिर लोकप्रिय छन् ।

केन्द्रीय समितिका तालमेलको पक्ष र विपक्षमा बोलेका यी नेताको चुनावी क्षेत्रको अवस्थाचाँही कस्तो छ त ? केन्द्रीय समितिमा बहस गरेपछि आगामी प्रदेश÷संघीय चुनावमा कांग्रेसका दुई चर्चित युवा नेता थापा र विश्वप्रकाश शर्माको चुनावी क्षेत्रबारे चर्चापरिचर्चा शुरू हुन थालेको छ ।
शर्मा ०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बार १ बाट पराजित नेता हुन् । थापा दुवै चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचिन सदस्य हुन् । थापा नेपाल सरकारका पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् । उनी ०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिक सदस्य रहेका थिए । शर्मा पार्टीको १३ औं महाधिवेशनपछि कांग्रेसका प्रवक्ता रहेका थिए । यी दुवै ०७० को संविधानसभा सदस्य र ०७४ को संघीय चुनावमा पहिलो पटक प्रत्यक्षतर्फका उम्मेदवार रहेका थिए ।

यस्तो छ ०७४ मा थापा र शर्माले पाएको मतपरिणाम

थापाले नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बार ४ बाट एमालेका चर्चित नेता डा. राजन भट्टराईलाई पराजित गरेका थिए । सदर मतमध्ये थापा २१५५८ मत ल्यायी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी भट्टराईले १८१४० मत पाएका थिए । ०७४ मा एमाले–माओवादीको गठबन्धन भएको थियो । वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रिएका थापाले वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई ३४१८ को फराकिलो मतान्तरले हराएका थिए । पहिलो पटक चुनावमा भाग लिएको विवेकशील साझाका उम्मेदवार सुबुना बस्नेतले जम्मा ३०४० मत पाएर तेस्रो भइन् । क्षेत्र नम्बर ४ मा कुल मतमध्ये ४३ हजार ५३५ सदर भएको थियो ।

त्यस्तै अर्का चर्चित नेता शर्माले प्रदेश १ अन्तगर्त झापा क्षेत्र नम्बर १ बाट प्रनिनिधिसभा निर्वाचन लडेका थिए । ०७० को संविधानसभा चुनावमा पनि उनी क्षेत्र नम्बर १ बाट नै चुनावमा पराजित भएका थिए । ०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्की (राम कार्की) सँग २ हजार ८६३ मतान्तरले पराजित भएका थिए । कार्कीले ३६ हजार १७३ मत ल्याइ विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए । तेस्रोमा मंगल नेशनल अर्गनाइजेसनका उम्मेदवार १३८९ मत पाएका थिए । कुल मतमध्ये ७३ हजार ३०३ मत सदर भएको थियो ।

यस्तो छ ०७० को संविधानसभा चुनावमा थापा र शर्माले पाएको मतपरिणाम

शर्मा ०७० को दोस्रो संविधानसभा निर्वाचनमा झपा क्षेत्र नम्बर १ बाट नै चुनावमा उठेका थिए । त्यसबेला उनी एमालेका उम्मेदवार रवीन कोइरालासँग पराजित भएका थिए । कोइरालाले १७ हजार २२९ मत ल्याइ विजयी भएका थिए । शर्माले १६ हजार ५४० मत पाएका थिए । माओवादीका उम्मेदवार बोधराज दाहालले ६ हजार ८५८ मत ल्याएर तेस्रो भएका थिए । कुल मतमध्ये ४६ हजार ४२० मत सदर भएको थियो । वामलोकतान्त्रिक गठबन्धनको जम्मा मत २३ हजार ३९८ रहेको थियो ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बार ४ बाट पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका थापाले एमालेका उम्मेदवार निर्मल कुँइकेललाई पराजित गरेका थिए । थापाले २२ हजार ३३६ मत ल्याइ विजयी हुँदा कुँकेलले जम्मा ९१३५ मत ल्याएका थिए । माओवादीका उम्मेदवार एवं वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले ६ हजार ४६२ मत ल्याइ तेस्रो भएका थिए । कुल खसेको मतमध्ये जम्मा ४३ हजार ५३१ मत सदर भएको थियो ।

थापा सेफ जोनमा

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसको तर्फबाट थापा बलिया उम्मेदवार हुन् । आगामी निर्वाचनमा थापा दोहोरिने सम्भावना बलियो छ । आगामी चुनावमा गठबन्धन नभएपनि थापाको जित्ने सम्भावना उच्च रहेको छ । ०७४ पछि राज्यसत्तामा तत्कालीन प्रधानमन्त्री ओलीको दबदबा रहेको समयमा संसद् र बाहिर थापाले ओलीको शसक्त प्रतिरोध गरेका थिए । उनी स्वास्थमन्त्री हुँदा राम्रा नीतिगत निर्णय गरी लोकप्रिय भएका थिए । यदि सत्ता गठबन्धन कायमै रहे थापालाई हराउन सक्ने अवस्था देखिंदैन । ०७४ मा सबैतिर वाम गठबन्धनले लोकप्रिय मत पाउँदा उनले विपक्षीलाई फराकिलो मतान्तरले हराएका थिए ।

के होला शर्माको भविष्य ?

कांग्रेसले आगामी संघीय चुनावमा झापा क्षेत्र नम्बर १ मा शर्मालाई नै निरन्तरता दिएको खण्डमा के होला भन्ने चासो बढेको छ । पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले महामन्त्री नबनाएपछि प्रकाशमान सिंहको समूहबाट महामन्त्री जितेका थिए । पार्टीभित्र र बाहिर शर्मा निकै लोकप्रिय भएपनि राजकीय सत्तामा अहिलेसम्म पुग्न सकेका छैनन् । झापाली मतदाताले पनि शर्मालाई पत्याएका छैनन् । ०७० को संविधानसभा चुनावमा पराजित भएका उनी ०७४ मा वामगठबन्धन भएपछि शर्माको विजययात्रामा पूर्णविराम लागेको थियो ।

यसपटक महामन्त्रीमा चुनिएपछि थप लोकप्रियता कमाएका शर्माले वाम–लोकतान्त्रिक गठबन्धन कायमै रहे उनले जित्नसक्ने अवस्था जिवितै छ । किनकी अघिल्लोपटक वाम गठबन्धनमा माओवादी विजयी भएको थियो । यसपटक फेरि कांग्रेसबाट टिकट पाएर चुनावी तालमेल भए शर्मालाई जित्न सहज हुनेछ ।

किनकी २०७० मा शर्माले पाएको १६ हजार ५ सय ४० र माओवादीका तत्कालीन उम्मेदवार बोधराज दाहालले पाएको ६ हजार ८५८ मत जोड्दा तत्कालीन एमालेबाट विजयी भएका रविन कोइरालाले पाएको १७ हजार २२९ भन्दा ५८९६ मतले बढी हुन्छ । शर्मा अहिलेसम्म कुनै विवादमा नफसेकाले गठबन्धन नभएपनि उनले जित्नसक्ने सम्भावना कायमै छ । किनकी पारदर्शी र लोकप्रिय रहेकैले कांग्रेसको १४ औं महाधिवेशनमा ठूलो गुटबाट उम्मेदवार बन्न नसक्दा पनि शर्मा महामन्त्रीमा जित्न पुगेका थिए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष