हतियारसहित २२ अमेरिकी सेना सुटुक्क काठमाडौंमा

काठमाडौं । आफ्नो तीनदिने भ्रमण सकाएर चिनियाँ विदेशमन्त्री वाङ यी गत आइतबार नेपालबाट बिदा भए । संयोग कस्तो भने उनी भ्रमण सकाएर फर्किएको ठीक दुई दिनपछि नै ०७८ चैत १६ गते अमेरिकी सेनाको एक टुकडी सुटुक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ ।
अमेरिकी सेना अन्य केही प्रयोजनका निम्ति नभएर नेपाली सेनासँग संयुक्त रूपमा सञ्चालन हुने ब्यालेन्स नेल २२–५५२० मा सहभागी हुन नेपाल आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले नेपालवाचलाई जानकारी दिए । याे टोलीमा अमेरिकी सेनाका विभिन्न दर्जाका २२ सैनिक सहभागी छन् ।
ब्यालेन्स नेल नेपाली सेना र अमेरिकी सेनाबीच हुने संयुक्त सैन्य तालिम हो । केही वर्ष अघिदेखि जोडिएको यो सम्बन्ध जारी छ । सेनाका प्रवक्ता सिलवालले हरेक वर्ष सञ्चालन हुने यो तालिमका लागि अमेरिकी सेनाको एक टोली चैत १६ गते नेपाल आएको जानकारी दिए ।
सेनाका प्रवक्ता सिलवालका अनुसार, नेपाली सेना र अमेरिकी सेनाबीचको यो तालिम चैत्र २० गतेदेखि शुभारम्भ भइसकेको छ ।
तालिम झण्डै एक महिना अर्थात् आगामी वैशाख १८ सम्म सञ्चालन हुनेछ ।
तालिममा सहभागी हुन आएको अमेरिकी सेनाको टोलीले हतियार, एम्युनिसन, मिलापका साधन तथा आवश्यक अन्य सामग्री साथमै लिएर आएका छन् । नेपाली सेनाको नीति तथा योजना निर्देशनालय व्यवस्था, नीति तथा योजना विभागले तालिमबारे जानकारी गराउँदै अमेरिकी सेना र तिनले ल्याउने सामग्रीलाई अनुमति दिन रक्षा मन्त्रालयलाई अनुरोध गरेको थियो । रक्षाले सचिवस्तरीय निर्णयबाट ती सामग्री ल्याउन अनुमति दिएकाे पाइएकाे छ । रक्षाले अनुमति प्रदान गर्दै गृह, परराष्ट्र, अर्थ, संस्कृति तथा पर्यटन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएको थियो ।
प्रतिक्रिया