NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एमालेले थाल्यो विपक्षी गठबन्धनको तयारी

काठमाडौं । सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले बिहीबार नेपालगन्जस्थित होटेल सोल्टीमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँग चुनावी तालमेलको प्रस्ताव राखेका हुन् । कर्णालीका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने क्रममा नेपालगन्जमा रहँदा ओलीले राणासँग डेढ घन्टा छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले दुई पार्टीबीच तीनै तह (स्थानीय, प्रदेश र संघीय) को चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताए ।

‘एमाले बाँकेका नेताहरूमार्फत अध्यक्ष ओलीले मलाई भेट्न बोलाउनुभयो । होटेल सोल्टीमा हामी दुईबीच डेढ घन्टाजति छलफल भयो,’ नेपालगन्ज नगरप्रमुखसमेत रहेका राणाले भने, ‘उहाँले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा समेत तालमेल गरेर जान प्रस्ताव राख्नुभयो । दुवै पार्टीबाट निर्णय गरेर छलफललाई निष्कर्षमा पुर्‍याउने समझदारी बनेको छ । त्यसअनुसार अब हामी हाम्रो पार्टीभित्र छलफल गर्नेछौँ ।’

सत्तासाझेदार दलले चुनावी तालमेलको तयारी गरेकाले विपक्षी दलहरूले पनि गठबन्धन बनाउनुपर्छ भन्नेमा समझदारी बनेको उनको भनाइ छ । राणाले ओलीसँगको छलफललाई चुनावी तालमेलको पहिलो चरणको छलफलको संज्ञा दिएका छन् । यस विषयमा राप्रपाले छिट्टै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए, नयाँ पत्रिकामा खबर छ ।