नेपालमा नियमित रुपमा रेल सेवा सुरु

धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो ।
पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ । रेल उद्घाटनका लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनलाई सजाइएको थियो ।
रेल प्रत्येक स्टेशनमा केही समयको लागि रोकिँदै जनकपुरसम्म आइपुग्ने छ ।
आज उद्घाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् भने उद्घाटन पश्चात् जनकपुरधामको कुर्थास्टेशनदेखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ । शनिबारदेखि सुरु हुन लागेको कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि ९० र वातावरण अनुकूलित सिट सुविधातर्फ ४५० टिकट कायम गरिएको छ ।
जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट ७० र एसिमा ३७० कायम गरिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने छन् ।
नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।
जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत पाँच अर्ब भारु रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ ।
प्रतिक्रिया