NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

उपभोक्ताको भान्सामा तरकारी पुगेपछि बल्ल खुल्छ कालीमाटीको विषादी परीक्षण प्रयोगशाला

काठमाडौं । काठमाडौं उपत्यकाका बासिन्दा महँगो तरकारीसँगै घातक विषादी पनि खान बाध्य छन् । कालीमाटी फलफूल तथा तरकारी बजारबाट विषादी परीक्षणविना नै तरकारी उपभोक्ताको भान्सा–भान्सामा पुग्ने गरेको छ । तरकारीको विषादी परीक्षण गर्न कालीमाटीमै राखिएको प्रयोगशाला उपभोक्ताको भान्सामा तरकारी पुगिसकेपछि मात्रै खुल्ने गरेको छ ।

कालीमाटीमा हरेक राति १२ बजेपछि तरकारीका ट्रक भित्रिन्छन् । रातभर अनलोड गरेर बिहान ३ बजेतिरै उपत्यकाका थोक तथा खुद्रा व्यापारीले तरकारी उठाउँछन् । बिहान ५ बजेसम्म त ठेलागाडा व्यवसायीले पनि तरकारी लगिसक्छन् । तर, कालीमाटी विषादी द्रुत विकास केन्द्र भने बिहान ६ बजे मात्रै खुल्छ । नयाँ पत्रिकाले मध्यरातदेखि बिहानसम्म गरेको निगरानीमा यस्तो देखिएको हो । केन्द्रले बचेखुचेका केही तरकारीको मात्रै परीक्षण गरेर औपचारिकता निर्वाह गरिरहेको छ ।

आफूहरूले सरकारले खटाएकै समयमा विषादी परीक्षण गर्दै आएको केन्द्रका प्रमुख प्रकाश घिमिरेले बताए । ‘हामीलाई सरकारले नै बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म प्रयोगशाला सञ्चालन गर्न भनेको छ । खोलेदेखि बन्द नभएसम्म आएका तरकारीको विषादी परीक्षण गर्छौँ,’ उनले भने, ‘प्रयोगशाला बन्द रहेको समयमा आएका तरकारीको जिम्मेवारी हामी लिन सक्दैनौं। त्यसका लागि त राज्यले नै पहल गर्नुपर्छ । हामी त सरकारले दिएको जिम्मेवारी पूरा गर्ने हो ।’

विषादी परीक्षण प्रयोगशाला खुल्ने वेलासम्म तरकारी उपभोक्ताको घर–घरमा पुगिसक्ने कालीमाटी तरकारी विकास समितिका एक कर्मचारीले बताए । ‘प्रयोगशालामा विषादी परीक्षणको काम बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै हुन्छ । व्यापारीहरूले भने बिहान ३ बजेदेखि ५ बजेभित्र तरकारी उठाइसकेका हुन्छन् । उपभोक्ताको भान्सामा तरकारी पुगिसकेपछि प्रयोगशालामा परीक्षण हुनुको के अर्थ ?’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष