NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कहिलेसम्म प्रधानमन्त्री रहन्छन् इमरान खान ?

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँको संसद् विघटन गरिदिएका छन् । उपसभामुखले खानविरुद्धको अविश्वासको प्रस्तावलाई असंवैधानिक करार गर्दै खारेज गरिदिएपछि पाकिस्तानको राजनीतिमा नयाँ ट्विस्ट आएको छ ।

खानलाई पाकिस्तानको तल्लो सदनले प्रधानमन्त्री बनाएको थियो । त्यही सदन नरहेपछि  खान कहिलेसम्म प्रधानमन्त्री रहन्छन् भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

पाकिस्तानको राजनीति अब विभिन्न विकल्पमा अघि बढ्न सक्छ । तर त्यसको प्रष्ट चित्र आइसकेको छैन । तथापि, खान भने अर्को सरकार गठन नहुँदासम्मका लागि कामचलाउ प्रधानमन्त्री रहिरहने छन् ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले इमरान खानलाई पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीका रुपमा निर्वाचित नभएसम्म प्रधानमन्त्रीको रुपमा रहने घोषणा गरेका छन् । पाकिस्तान राष्ट्रपति आरिफ अल्वीले ट्वीट गर्दै यो घोषणा गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘पाकिस्तानमा कार्यवाहक प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा २२४ए (४) अन्तर्गत हुनेछ र यो नियुक्ति नभएसम्म इमरान खानले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।’


पाकिस्तानको मन्त्रीपरिषद्ले आइतबार नै एक सूचना जारी गर्दै इमरान खान अब पाकिस्तानको प्रधानमन्त्री नरहनेबारे जानकारी गराएको छ । मन्त्रीपरिषद्ले इमरान खान प्रधानमन्त्री नरहने कुरा तत्कालै जारी गरेको थियो । इमरान खानका राजनीतिक सल्लाहकार शाहबज गिलले मन्त्रीपरिषद्को सूचना ट्वीटमा साझा गर्दैै भनेका छन् ‘यही नियम र कानुन हुन्’


राति जारी गरिएको सूचना अनुसार राष्ट्रपतिले संविधानको धारा ५८ (१) बमोजिम संसद विघटन गरेपछि इमरान खान प्रधानमन्त्री नरहेका कुरा घोषणा गरेका छन् ।

आइतबार राष्ट्रिय सभामा इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई सदनका उपसभामुख कासिम सुरीले असंवैधानिक भन्दै अस्वीकार गरेका थिए । यसपछि इमरान खानले देशका राष्ट्रपति आरिफ अल्वीलाई विधानसभा भंग गर्न सिफारिस गरेका थिए । जसको आधारमा सभा विघटन भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष