NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रवक्ता शाहीको प्रश्न, ‘देशद्रोहीले देश चलाएका छन्, जनता न्याय माग्न कहाँ जाने ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राप्रपा रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रघात गर्नेलाई आफूहरू कहिल्यै क्षमा नदिने बताउँदै उनले देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र युवालाई नेपालमै रोजगारी दिलाउनुमा रहेको बताए ।

देशमा राजतन्त्र हुँदा न्याय पाइने गरेको स्मरण गर्दै प्रवक्ता शाहीले अहिले देशद्रोहीहरूले राज्य चलाइरहेकाले जनता अन्यायमा परेको बताए ।

‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलाएका छन् । अब जनता न्याय माग्न कहाँ जाने ?’, उनले प्रश्न गरे ।

तीन वर्षमा एक अर्ब आठ करोड बजेट सिद्धार्थनगर आएको र ५० करोड आठ लाख बेरुजु भएको प्रवक्ता शाहीले दाबी गरे ।

जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको आरोप लगाउँदै उनले भने, ‘यसको हिसाब जनताले लिनुपर्छ ।’