को बन्ला पाकिस्तानको कामचलाउ सरकारको प्रधानमन्त्री ?
काठमाडौं (एजेन्सी) । पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।
प्रभात अखबारका अनुसार पीटीआईको उच्च स्तरीय समितिबाट अनुमोदन भएपछि इमरान खानले यस्तो निर्णय गरेको उनले बताए ।
गुलजार अहमदको नामाङ्कन संविधानको धारा २२४– क (१) अन्तर्गत कामचलाउ प्रधानमन्त्रीको रूपमा नियुक्तिका लागि उपयुक्त व्यक्तिहरूको नाम प्रस्ताव गर्न राष्ट्रपति डा. आरिफ अल्वीले सोमबार प्रधानमन्त्री तथा विपक्षी नेतालाई लेखेको पत्रपछि खानले उक्त प्रस्ताब गरेको बताइएको छ ।
इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रियसभाका उपसभामुखले खारेज गरेको एक दिनपछि प्रधानमन्त्रीबारे यस्तो निर्णय गरिएको हो ।
राष्ट्रपति आरिफ अल्वीले खानको सल्लाहमा राष्ट्रियसभा भङ्ग गरेका छन् । सन् २०१९ को डिसेम्बर २१ मा पाकिस्तानको २७ औं प्रधान न्यायाधीशका रुपमा शपथ लिएका अहमदको जन्म २ फेब्रुअरी १९५७ मा कराँचीमा भएको थियो । प्रभात अखबारका अनुसार उनले सन् २०२२ फेब्रुअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए ।
प्रतिक्रिया