NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विद्यालयमा १३ छात्रालाई बलात्कार गर्ने प्रिन्सिपललाई मृत्युदण्ड

जकार्ता । इन्डोनेसियाको एउटा अदालतले इस्लामिक विद्यालयमा पढ्ने १३ बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको छ ।

यसअघि ३६ वर्षीय प्रिन्सिपल हेरी विरावानलाई तल्लो अदालतले यस वर्षको फेब्रुअरीमा जन्मकैदको सजाय सुनाएको थियो तर उच्च अदालतले उक्त निर्णयलाई उल्टाउँदै मृत्युदण्डको सजाय सुनाएको हो ।

फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएपछि मृत्युदण्डको माग गरेका अभियोजकहरूले पुनरावेदन दायर गरेका थिए ।

यौन दुर्व्यवहार गरेका पीडितहरूलाई क्षतिपूर्ति दिन प्रयोग होस् भनेर अदालतले प्रिन्सिपलको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ । गत वर्ष मे महिनामा विद्यालयमा छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो । जनवरीमा भएको प्रारम्भिक सुनुवाइको क्रममा, विरावानले गल्ती स्वीकार गरे र पीडितहरूसँग माफी मागेका थिए ।

शिक्षक हेरी विरावानको घटनाले इन्डोनेसियालाई स्तब्ध बनाएको छ र देशको धार्मिक विद्यालयमा बालबालिकालाई यौन हिंसाबाट जोगाउनु पर्ने आवश्यकतालाई अगाडि ल्याएको सिएनएनले उल्लेख गरेको छ । त्यहाँ संसदमा पनि धार्मिक बोर्डिङ स्कुलको सुरक्षामाथि प्रश्न उठेको छ र यस्ता अपराध रोक्न विधेयक ल्याउन माग गरिएको छ । केही रूढिवादी मुस्लिम समूहले भने विधेयकको विरोध गरेका छन् ।

उनले सन् २०१६ देखि २०२१ सम्म १२ वर्षदेखि १६ वर्ष उमेरसम्मका छात्रालाई बलात्कार गरेकामध्ये ८ जना गर्भवती भएका थिए । बलात्कारबाट केही छात्रा घाइते पनि भएका थिए ।

इन्डोनेसिया विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देशमध्ये पर्छ । त्यहाँ हजारौं इस्लामिक बोर्डिङ स्कूलहरू र अन्य धार्मिक विद्यालयहरू छन् । ती विद्यालय न्युन वर्गका बालबालिकाहरुले शिक्षा प्राप्त गर्ने एक मात्र माध्यम हुन् । त्यहाँ २५ हजारभन्दा बढी धार्मिक विद्यालय छन्, जसमा ५० लाख बालबालिकाले अध्यनन गर्छन् ।