NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मानिसलाई मदिरा किन मन पर्छ ?

काठमाडौं । पनामामा ब्ल्याक ह्यान्डेड स्पाइडर मोन्की नामक बाँदरको प्रजातिलाई ताडको फल मन पर्छ। यो फल खाएपछि उनीहरुलाई नशा लाग्छ । वास्तवमा ताडको फलमा इथानोल नामक अल्कोहल हुन्छ, यसैले गर्दा बाँदरलाई निन्द्रा लाग्छ ।

मदिरा सेवन गर्ने बाँदरलाई ध्यानमा राख्दै अमेरिकी वैज्ञानिकहरु मानिस किन यति धेरै मदिरा मन पराउँछन् भन्ने कुरा पत्ता लगाउन खोजिरहेका छन् । यसका लागि उनीहरुले ब्ल्याक ह्यान्डेड स्पाइडर मोन्कीमा अनुसन्धान सुरु गरे । तर, विभिन्न प्रकारका फलफूल र फूल खाएर मादक पदार्थ सेवन गर्ने बाँदरका अन्य धेरै प्रजाति पनि छन् ।

अनुसन्धानकर्ताहरूले दुईवटा स्पाइडर बाँदरको पिसाबको नमूना लिएका थिए । परीक्षण गर्दा पिसाबमा इथानोल उच्च मात्रामा भेटियो । बाँदरले इथानोल अल्कोहललाई आफ्नो थकान मेटाउने र निद्राको माध्यम बनाएका छन् ।

अनुसन्धानमा संलग्न नर्थरिज क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी वैज्ञानिक क्रिस्टिना क्याम्पबेलका अनुसार जंगलमा बस्ने बाँदरहरू मादक हुन्छन् । यसबारे पहिलोपटक सन् २००० मा जीव वैज्ञानिक रोबर्ट डडलीले अध्ययन गरेका थिए ।

बाँदर मदिराको स्वाद र गन्धमा आकर्षित हुने डडलीले बताएका थिए । तिनीहरूले मादक फलहरू चिन्छन् र अन्य जनावारले नखाओस भनेर छिट्टै खाइहाल्छन् भन्ने डडलीको सिद्धान्त अहिले प्रमाणित भएको छ । अनुसन्धानमा समावेश गरिएका बाँदरहरूलाई इथानोल भरिएको फलफूल खुवाउने प्रयास गरिएको थियो । तर, बाँदरले ती फलहरु खाएनन् । पछि उनीहरुलाई बाहिर जंगलमा छोडेपछि तिनीहरूले आफैं पाम फ्रुट खोजेर खान थाले ।

अनुसन्धानबाट बाँदरहरूले नशाको लागि मात्र नभएर आफ्नो पाचन प्रक्रियालाई स्वस्थ राख्न र ऊर्जाको स्तर बढाउन पनि इथानोल भएका फलफूल खान रुचाउने पत्ता लाग्यो । मानिसको सोच पनि बाँदरको जस्तै हुन भन्ने क्रिस्टिनाको विश्वास छ । मानिसहरु पनि उर्जा बढाउन र थकान हटाउनका लागि मदिरा सेवन गर्छन् ।

मध्य र दक्षिण अमेरिकाका स्थानीय मानिसहरूले पामको फल प्रयोग गर्छन् । यसबाट चिचा नामको स्वदेशी मदिरा बनाइन्छ । लाखौं वर्षमा बाँदरबाट मानिसमा क्रमविकासको गुणहरू सरेको वैज्ञानिकहरू विश्वास गर्छन् । अर्थात् बाँदर होस् वा मानिस सबैलाई रक्सी मन पर्छ । मानिस, चिम्पान्जी, बोनोबोस र गोरिल्लाको जीन मानिससँग मिल्दोजुल्दो हुन्छ ।