पाँचदलीय गठबन्धनको संयुक्त अपिलमा के छ ?
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहमा मिलेर चुनाव लड्ने भन्दै संयुक्त अपिल जारी गरेका छन् । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलमा सहमति जनाउँदै गठबन्धनका नेतालाई जिताउन अपिल गरेका छन् । विज्ञप्ति जारी गर्दै उनीहरूले अमूल्य मत दिएर गठबन्धनका नेतालाई जिताउन अपिल गरेका हुन् ।
देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल गर्न पाँच दलले संयुक्त रुपमा अपिल गरेका हुन् । तालमेलका लागि आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न उनीहरूले अपिल गरेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिए पनि सत्तारुढ दलले चुनावी तालमेलको मोडालिटी अझै तय गर्न सकिरहेका छैनन् ।
तालमेलको सैद्धान्तिक सहमति भए पनि कहाँ र कसरी गर्ने भन्ने कुनै टुंगो लागेको छैन । तर गठबन्धनकै दलबीच एक अर्कालाई नसघाउने गरी प्रयास भएपछि दलहरूले संयुक्त अपिल जारी गरेको बुझिएको छ ।
६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिकासहितका स्थानीय तहमा कसरी तालमेल गर्ने भन्ने टुंगो लगाइसकेका छैनन् । ६ महानगरमध्ये कांग्रेसले तीनवटा बाँकी तीनवटा माओवादी, नेकपा एस र जसपाले लिने मोटामोटी सहमति बनेको छ । तर अन्य स्थानीय तहको मोडालिटीबारे कुनै टुंगो लागिसकेको छैन ।
आइतबार रामचन्द्र पौडेल नेतृत्वको सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समिति बैठक बसेको थियो । यो बैठकले पनि कुनै सहमति जुटाउन सकेन । सोमबार शीर्ष तहका नेता बसेर संयुक्त अपिल जारी गरेका हुन् ।
उनीहरूले एमालेको नामै नलिइ संविधानको उलघंन गरी संसदमाथि प्रहार गरेको, अदालतमाथि खेलबाड गरेको, संवैधानिक अंगहरूमा बेथिति ल्याएको जस्ता आरोप लगाएका छन् । यस्तै बेथितिविरुद्ध सत्ता गठबन्धन एकजुट हुनुपरेको उनीहरूको मत छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया