मतदाता शिक्षा कार्यक्रमबारे अन्योल
चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ ।
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता शिक्षाको विषयमा अहिलेसम्म आयोगले कुनै निर्णय गरेको छैन । उनले भने, “मतदाता शिक्षाको विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । केही दिनमा टुङ्गो लाग्छ ।”
विगतमा निर्वाचनका लागि आयोगले मत बदर नहोस् भनेर एक महिनाअघि देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दथ्यो । हरेक वडामा एक वा दुई जनाको दरले मतदाता शिक्षाका लागि कर्मचारी खटाउने गरेको भए पनि अहिले भने निर्णय नआउँदा अन्योल भएको छ ।
कार्कीले भने, “मतदाताका लागि शिक्षा दिन अहिले आयोगले सञ्चार माध्यमको प्रयोग गर्ने तयारी गरेको छ । मतदाता शिक्षाका लागि एक मतदान स्थलमा दुईजना कर्मचारी खटिन सक्छन् ।”
उनीहरुले निर्वाचनको दिनमा मतदान गर्न आउने मतदातालाई नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन् । आयोगले खर्चमा मितव्ययिता अपनाएर निर्वाचन शिक्षा कार्यक्रमका लागि सञ्चार माध्यमको प्रयोग गर्न लागेको हुन सक्ने कार्यालयले जनाएको छ ।
जिल्लामा सात स्थानीय तह छन् । एक महानगर, पाँच नगर र एक गाउँपालिका रहेको जिल्लामा १६१ मतदान स्थलमा ४५१ मतदान केन्द्र रहेका छन् । ती मतदान स्थलमा दुई कर्मचारीले मतदाता शिक्षा दिनेछन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ३ दशमलव ५१ प्रतिशत मत बदर भएको थियो । दुई लाख ४० हजार ११४ मत खसेकामा आठ हजार १४१ मत बदर भएको कार्यालयले जनाएको छ । विसं २०७४ को निर्वाचनमा भन्दा यसपटक ८४ हजार ६८३ मतदाता बढी छन् । नयाँ मतदातालाई मतदान प्रक्रियाबारे ज्ञान नहुन सक्छ । निर्वाचन प्रक्रिया परिर्वतन भइरहँदा पुराना मतदाता पनि झुक्किन सक्छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
प्रतिक्रिया