हर्षोल्लासपूर्वक मनाइयो नयाँ वर्ष २०७९ को पहिलो दिन
काठमाडौं । आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।
वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । साथीभाई एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउनेको लर्को सडकमा देखिन्थ्यो ।
मठ, मन्दिर, उद्यान, स्मारक जस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थ्यो । कोरोनाको जोखिमका कारण विसं २०७७ र २०७८ राम्रोसँग मनाउन नपाएका मानिस विभिन्न मठ, मन्दिर, उद्यानलगायत स्थलमा हिँडेको देखिन्थ्यो ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ ।
सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया