NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

गठबन्धनको भर छैन, आफ्नै बलमा चुनावको तयारी गरौं : प्रचण्ड

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचन तयारी सम्बन्धमा पार्टीको रणनीतिबारे केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहानदेखि बसेको बैठकमा आगामी निर्वाचनबारे छलफल भएको एक नेताले नेपालवाचलाई जानकारी दिए । बैठकमा प्रचण्डले आफ्नै हैसियतमा चुनाव जित्नेगरी तयारी थाल्न नेताहरूलाई निर्देशन दिएका थिए ।

‘मुलुक अहिले गम्भीर अवस्थामा रहेको छ । प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू हावी हुने खतरा छ ’, उनको भनाइ उदृत गर्दै ती नेताले भने, ‘प्राप्त उपलब्धिको रक्षाका लािग हामीले जसरी पनि जित्नै पर्छ । त्यही अनुसार तपाईंहरू तयारी गर्नोस् । यो लडाइँ हामीले जित्नैपर्छ ।’

पूर्वस्थायी कमिटी र प्रदेश इन्चार्जहरू समेतको बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूबीच भएको चुनावी तालमेलबारे सदस्यहरूलाई जानकारी गराएका थिए । बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे भर नपर्न र आफ्नै हिसाबले अगाडि बढ्न निर्देशन दिएका थिए ।

‘गठबन्धनमा देशभर कांग्रेससँग चुनावी तालमेल गर्नेबारे गठबन्धन दलबीचमा छलफल भइरहेको छ । तर अन्य दलहरूले हैसियतभन्दा बढी माग दाबी गरिरहेका छन् । हाम्रो प्रयास सकभर सबैलाई समेटेर लैजनमा छ । गठबन्धनमा सबैले आ–आफ्नै दावी नछोडे एक्लै चुनावमा जानुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तो अवस्थामा आफ्नै खुट्टामा उभिनेगरी तयारी गर्न आवश्यक छ’, ब्रिफिङको क्रममा प्रचण्डले बैठकमा भनेका थिए ।

यस्तै प्रचण्डले सकेसम्म सर्वसम्मत रूपमा उम्मेदवार छनोट प्रक्रिया टुंग्याउने हिसाबले अगाडि बढ्न आग्रह गरेका थिए । प्रचण्डको ब्रिफिङ सकिएपछि प्रदेश इन्चार्जहरूले आ–आफ्ना प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए ।