निर्वाचन नजिकिएसँगै चितवनमा रगतको अभाव

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ । राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो । अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलब्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए ।
अहिले केन्द्रमा दैनिक १५० युनिट रगत माग भएकामा ७० देखि ७५ युनिट मात्रै उपलब्ध गराउन सकिएको उनले बताए । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र तीनका भ्रातृ संस्था निर्वाचन केन्द्रित कार्यक्रममा लागेपछि रगतको अभाव भएको उनले बताए । प्रमुख पौडेलले भने, “सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा रक्तदानमा ध्यान पुग्न सकेको छैन।”
टोलटोलमा राजनीतिक कार्यक्रम भइरहेका छन् तर रक्तदान कार्यक्रम हुन नसकेको उनको भनाइ थियो ।
अत्यधिक गर्मी, रक्तदाता बिरामी हुनु, क्याम्पसमा परीक्षाको समय हुनुलगायत कारणले पनि रक्तदान कार्यक्रम हुन नसकेको प्रमुख पौडेलले बताए ।
नेपालको मध्यभागमा रहेको यस केन्द्रले चितवनसहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लमजुङलगायत जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ । जिल्लामा एक सङ्घीय अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जनभन्दा बढी साना अस्पतालमा दैनिक हुने शल्यक्रियाका लागि रगत सङ्कलन पर्याप्त हुन नसक्दा माग बढ्दै गएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया