NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सडकमा बस्ने छाडा पशु नियन्त्रण गर्न योगीको नयाँ योजना

लखनउ । दोस्रोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि योगी आदित्यनाथले छाडा पशुचौपायको समस्या समाधान गर्ने योजना अगाडि सारेका छन् ।

अङ्ग्रेजी अखबार ‘द इन्डियन एक्सप्रेस’ का अनुसार विधानसभा चुनावमा छाडा पशुचौपायको समस्या निकै चर्को रुपमा उठाइएकाे थियाे । साथै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको चुनावी अभियानका क्रममा आफू फेरि सत्तामा आए यसको समाधान गर्ने बताएका थिए ।

याेगीकाे याेजनाअनुसार एक सय दिनभित्र ५० हजार छाडा जनावरलाई आश्रय दिइने पत्रिकाले जनाएको छ । छ महिनामा यो संख्या एक लाख पुर्याउने उनकाे योजना छ । यसका साथै सम्पूर्ण राज्यमा ५० गाई सेल्टरहरू स्थापना गरिनेछन् ।

प्रत्येक जिल्ला मजिस्ट्रेटले चैत १५ गतेदेखि दैनिक कम्तीमा १० वटा छाडा गाईलाई आश्रयमा लैजानु पर्नेछ । यो योजना दीर्घकालीन रूपमा लागू गर्ने अधिकारीहरूले बताएका छन् ।

सरकारले गाईको गोबर प्रयोग गरेर बायोग्यास प्लान्ट स्थापना गर्ने योजना पनि बनाएको छ । यो योजना सार्वजनिक निजी साझेदारीअन्तर्गत हुनेछ । ग्यासका लागि गाईको गोबर सिधै किसानबाट खरिद गरिनेछ ।

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री मोदीले गाईले दूध दिन बन्द गरे गाईको गोबरबाट आम्दानी गर्ने वाचा गरेका थिए । यसबाट किसान आकर्षित हुने र छाडा गाईको संख्या कमी हुने सरकारको नीति थियो ।