NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रुसी सेनामा भर्ती हुने हल्लाका भरमा दूतावासबाहिर लाइन लागे युवा

काठमाडौं । अफ्रिकी राष्ट्र इथियोपियाको राजधानी अदिस अबाबामा रहेको रुसी दूतावासबाहिर मंगलबार युवाहरुको ठूलो भीड लाग्यो ।

इथियोपियाली युवाहरू रुसी दूतावासबाहिर लाइनमा उभिए । उनीहरु रुसले युक्रेन युद्धका लागि सैनिक भर्ती गरिरहेको भन्ने सुनेर त्यहाँ लाइन लागेका थिए । तर, रुसी दूतावासकी प्रवक्ता मारिया चेर्नुखिनाले इथियोपियामा भर्ना गर्न नलागेको बताइन् ।

उनका अनुसार रुसलाई समर्थन जनाउन भीड जम्मा भएको थियो । प्रवक्ता मारियाले भनिन्, ‘रूसप्रति आफ्नो समर्थन व्यक्त गर्न ठूलो संख्यामा त्यहाँ मानिसहरू पुगेका हुन्छन् । तीमध्ये धेरैले रुसलाई कुनै पनि हालतमा सहयोग गर्न चाहेको भनिरहन्छन् । तर हामी भर्ती गर्ने निकाय होइनौं ।’

रुसी दूतावासबाहिर जम्मा भएका धेरै इथियोपियाली युवाहरू सेनामा भर्ना हुने भन्दै आफ्ना कागजपत्र लिएर त्यहाँ पुगेका थिए ।

दूतावासबाहिर पर्खिरहेका एक युवाले आफूलाई सिपाहीको रूपमा राम्रो तलब वा अन्य कुनै जागिर चाहिएको बिबिसीसँग बताएका थिए । उनीहरुले आफूलाई रुस मन पर्ने पनि बताएका थिए ।

कतिपयले भने रुसमा राम्रो तलब पाइने भन्ने सुनेको भएर भर्ती हुन आएको बताए । युक्रेनमा रुसको आक्रमणलाई लिएर राष्ट्रसंघीय सम्मेलनमा मतदानको समयमा सत्रमा भाग नलिने देशहरूमध्ये इथियोपिया पनि परेको थियो । यस मतदानमा दक्षिण अफ्रिकासहित १७ अफ्रिकी देशले भाग लिएनन् ।