NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बीमा समितिमा धर्ना दिँदै निर्माण व्यवसायी

काठमाडाैं । आज दिउँसो १ बजेदेखि निर्माण व्यवसायी महासंघले बीमा समितिमा एक घण्टा शान्तिपूर्ण धर्ना दिने भएको छ । महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै बीमा समितिमा धर्ना दिने भएको हो ।

महासंघले समितिबाट जारी नन ट्यारिफ बीमा व्यवसायको दर फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् । आइतबार मात्रै महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बीमा समितिका कार्यकारी निर्देशकलाई भेटी आन्दोलनको कार्यक्रमबारे जानकारी गराएको  थियो ।

बीमा समितिबाट जारी गरिएको बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको लागि पटक पटक पत्राचार तथा ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाई नभएकोले बाध्य भएर धर्ना दिनुपरेको अधध्यक्ष सिंहले बताए । उनले माग सम्बोधन नभएमा आन्दोलनका थप कदम चाल्ने र समितिमा ताला लगाउनसम्मका कार्यक्रम गर्न पछि महासंघ नहट्ने अडान लिए ।

निर्देशिकाको व्यवस्थाअनुसार बीमा कम्पनीहरुले विगतमा लिइरहेको प्रिमियम दरमा चार–पाँच गुणा बढी वृद्धि गर्ने र विगतमा बीमा कम्पनीहरुले दाबी भुक्तानी गरी रहेको ७० देखि ८० प्रतिशत दाबी रकम बीमकलाई भुक्तानी नै गर्न नपर्ने, एक्सेस भ्यालुमा आठदेखि दश गुणा वृद्धि गर्ने प्रावधान राखी जारी गरिएको निर्देशिका अति नै अव्यवहारिक तथा अवैज्ञानिक भएको उनको भनाइ छ ।

यता बीमा समितिले भने महासंघका कर्मचारीहरूले धम्कीपूर्ण ढंगले अनसन बस्न लागेको जानकारी दिएका छन् । व्यवसायीहरूको माग सम्बोधनकै लागि पटक पटक छलफलका कार्यक्रम चलाएको समितिको दाबी छ । व्यवसायीहरूकै माग सम्बोधनको लागि काम गरिरहेकोले व्यवसयायीहरू बीमा समितिमा नै आएर धर्ना बस्नुपर्ने कुनै आवश्यकता नभएको समितिको धारणा छ ।

एउटै रेटमा बीमा गर्दा पुर्नबीमा कम्पनीहरूसँग पुर्नबीमा गराउन समस्या हुनुका साथै दाबी भुक्तानीमा समेत समस्या पर्न थालेपछि समितिले बाध्य भएर दर निर्धारण गरेको समितिले जनाएका छन् ।