NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चीन र रुससँग नडराउने शक्तिशाली प्रधानमन्त्री जेसिन्डा

काठमाडौं । विश्वका दुई शक्तिशाली देश रुस र चीनको निर्णयका अगाडि विश्वमा शक्तिशाली मानिएका देश र संस्थाहरु बोल्नु वा कुनै कदम चाल्न डराउँछन् ।

यी देशहरुको कदमविरुद्ध उभिएकी न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दा अर्डनले चीन र रुसको खुलेर विरोध गर्दै आएकी छन् ।

हालै चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि उनले यसबारे बाेलेकी थिइन् । याे सम्झौताले चिनियाँ सैन्य क्षमता प्रशान्त क्षेत्रमा फैलिने भन्दै अमेरिका, अष्ट्रेलियाले यसलाई रोक्ने प्रयास गरेका थिए तर असफल भए ।

यसअघि न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डाले रुस-युक्रेन युद्धको पनि विरोध गरेकी थिइन् । न्युजिल्यान्डको राजधानी वेलिंग्टनमा आयोजित पत्रकार सम्मेलनमा अर्डनले रुसी सैनिकले युक्रेनी नागरिकको हत्या, बलात्कार र गम्भीर घाइते भएको समाचार अत्यन्तै निन्दनीय रहेको बताएकी थिइन् ।

उनले रुसले आफूले गरेको गतिविधिको जवाफ विश्वलाई दिनुपर्ने बताउँदै आएकी छन् ।

सन् २०२२ जनवरीमा न्यूजील्याण्डकी ४१ वर्षीया प्रधानमन्त्री जेसिन्डाले क्लार्क गेफोर्डसँग विवाह गर्दै थिइन् । तर, यसैबीच न्यूजिल्यान्डमा कोरोना संक्रमण बढ्न थाल्यो ।

प्रधानमन्त्री जेसिन्डाले देशमा कोरोनाको संक्रमण रोक्न कडा प्रतिबन्ध लगाएकी थिइन् । यी प्रतिबन्धको घोषणासँगै जेसिन्डाले विवाह तत्कालका लागि रद्द गर्ने घोषणा पनि गरेकी छन् । उनको यो निर्णय विश्वभर उदाहरणीय बनेको छ ।

यति मात्र होइन कोरोनासँग लड्न न्युजिल्यान्डले उठाएका ठोस कदम र प्रतिबन्धलाई विश्वले उदाहरणका रूपमा स्वीकार गरेको छ ।

सन् २०१७ मा पूर्ण बहुमतसहित चुनाव जितेर न्युजिल्यान्डमा सरकार गठन गरिन् । चुनाव प्रचारका क्रममा उनी गर्भवती थिइन् । प्रधानमन्त्री बनेको ८ महिनामै आमा बनेकी जेसिन्डा आफ्नो कार्यकालमा आमा बनेकी विश्वकै दोस्रो प्रधानमन्त्री बनेकी छिन् । यसअघि पाकिस्तानकी बेनजिर भुट्टोले प्रधानमन्त्री हुँदा बच्चा जन्माएकी थिइन् ।

अर्डन आमा बनेपछि उनको पार्टनर क्लार्कले केही समयको लागि जिम्मेवारी लिएका थिए । उनका प्रेमी क्लार्क गेफोर्ड एक टिभी प्रस्तोता हुन् । यो जोडी सन् २०१२ मा भेट भएको थियो । अर्डन र क्लार्कले सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । दुवैले यसै वर्ष विवाह गर्ने तय भए पनि कोभिडका कारण स्थगित गरिएको छ ।

अर्डनको जन्म सन् १९८० मा ह्यामिल्टन न्युजिल्यान्डमा भएको थियो । उनका बुबा रोस अर्डन एक पुलिस अफिसर थिए र आमा लरेल गृहणी थिइन् । जेसिन्डालाई राजनीतिमा पहिलेदेखि नै रुचि थियो । त्यसपछि उनी सन् २००१ मा १८ वर्षको उमेरमा न्यूजिल्यान्डको लेबर पार्टीमा सामेल भइन् । उनले तत्कालीन प्रधानमन्त्री हेलेन क्लार्कका लागि अनुसन्धानकर्ताको रूपमा काम गरिन् ।

उनको मेहेनेत देखेर पार्टीले उनलाई सन् २००८ मा संसदको उम्मेदवार बनाएको थियो । यसपछि उनी सफलताको सिँढी चढिन् र अगस्ट २०१७ मा पार्टीको प्रधानमन्त्रीको उम्मेदवार बनिन् ।

अर्डनले निर्वाचनमा पार्टीलाई ठूलो जित दिलाइन् । न्युजिल्यान्डमा २४ वर्षपछि पहिलोपटक कुनै नेताले बहुमत हासिल गरेका थिए । तीन वर्ष एक्लै सरकार चलाएपछि सन् २०२० मा न्युजिल्यान्डमा भएको आम निर्वाचनमा भारी जित हात पारेर दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी हुन् ।