NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भारतमा कोभिड संक्रमण बढ्न थालेपछि रुपैडिया क्षेत्रमा उच्च सतर्कता

नेपालगञ्ज । भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए ।

गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उहाँले जानकारीदिनुभयो । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ । ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने ।

खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए । सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए । संक्रमण बढेको अवस्थामा जिल्लामा कयौँको मृत्यु भएको थियो ।

भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा. संकेत कुमार रिसालले अहिलेसम्म कोभिड संक्रमणको विरामी नआएकाले शुन्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए । ‘अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन ।’ उनले भने । नेपालमा पनि संक्रमण बढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो ।