NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपालको व्यापार घाटा १३ खर्ब नाघ्यो, १ खर्ब ६० अर्बको निर्यात

काठमाडाैं चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब ६ अर्ब  ८ करोड रूपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो ।

अघिल्लो आवको पहिलो ९ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब १६ अर्ब थियो । त्यस्तै चालु चालु आवको ८ महिनासम्ममा नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रूपैयाँ थियो । एक महिनाको अविधमा २ खर्ब भन्दा बढीले व्यापार घाटा चुलिएको छ ।

चालु आवको ९ महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रूपैयाँ बराबरको आयात गरेको छ । विभागको तथ्यांक अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड बराबरको सामान आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३१.९७ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ११ खर्ब ११ अर्ब  बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा नेपालले हालसम्मकै उच्च निर्यात गरेको छ । सोही अविधमा नेपाले १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख  बराबरको सामान निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ६९.४४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ९४ अर्ब ७६ करोड बराबरको सामान निर्यात गरेको थियो  ।

९ महिनाको अवधिमा  नेपालले डिजेल मात्र १ खर्ब ५ अर्ब बराबरको आयात गरेको छ । त्यस्तै ४७ अर्ब २३ करोडको पेट्रोल, ४५ अर्ब ५८ करोडको कच्चा सोयाबिन तेल, तथा ४५ अर्ब ३४ करोडको खाना पकाउने ग्यास  आयात गरेको छ । यस अवधिमा नेपालले ४३ अर्ब ३० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।