NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

मालदिभ्समा भारत विरोधी प्रदर्शन गर्न प्रतिबन्ध

माले । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले देशमा महिनौंदेखि चलिरहेको ‘भारत विरोधी’ प्रदर्शनमा रोक लगाएका छन् ।

बिहीबार उनले यससँग सम्बन्धित आदेश जारी गर्दै यसले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको बताए ।

पत्रिका इन्डियन एक्सप्रेसमा प्रकाशित रिपोर्टअनुसार राष्ट्रपति सोलिहले विभिन्न नाराहरू मार्फत अन्य देशहरू विरुद्ध घृणा अभियान निषेध आदेश जारी गरेका हुन् । जसमा मालदिभ्स्मा भइरहेको ‘इन्डिया आउट’ प्रदर्शनको उल्लेख गरिएको छ ।

यसलाई अराजकता फैलाएर देशको शान्ति सुरक्षा प्रयासमा खलल पु¥याउने र दुई देशबीचको सम्बन्ध बिगार्ने सुनियोजित अभियान भनिएको छ । राष्ट्रपति सोलिहले प्रशासनलाई वर्तमान कानून अन्तर्गत सबै कदम चाल्न र बिहीबार जारी आदेशलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

धिवेही भाषामा जारी उक्त आदेशमा अन्य देशका राजदूत र देशमा रहेका उनीहरुका दूतावासको सुरक्षा गर्ने दायित्व सरकारको हो भन्ने लेखिएको छ ।

अखबारका अनुसार केही महिनाअघि सामाजिक सञ्जालमा माल्दिभ्समा भारतविरुद्ध अभियान चलाइएको थियो र त्यहाँ रहेका भारतीय राजदूत र दूतावासलाई धम्की दिइएको थियो । यसपछि भारतीय दूतावासले थप सुरक्षाको माग गरेको थियो । यो माग सोलिह सरकारले स्वीकार पनि गरेको थियो ।

सन् २०१३ देखि २०१८ सम्मको राष्ट्रपतिको कार्यकालमा पूर्व राष्ट्रपति अब्दुल्ला यामिनको विदेश नीति चीनतर्फ झुकेको थियो । चीनले हिन्द महासागरमा आफ्नो प्रभुत्व बढाउने प्रयास गरिरहेको र महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजनालाई अगाडि बढाइरहेको बेला यो भएको थियो ।

यामिनले आगामी चुनावमा आफ्नो स्थिति बलियो बनाउन यो अभियानलाई हतियारको रुपमा प्रयोग गर्ने ठानिएको छ । आगामी सेप्टेम्बर २०२३ मा माल्दिभ्समा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

बुधवार मालेस्थित उनको निवास बाहिर ‘इन्डिया आउट’ लेखिएको ठूलो ब्यानर झुण्डिएको देखिएको थियो । यसपछि बिहीबार अदालतको आदेशसँगै प्रहरीले यसलाई हटाएको थियो ।

इन्डिया आउट अभियानले नयाँ दिल्लीले माल्दिभ्समा सैन्य उपस्थिति कायम गर्न खाेजेकाे दाबी गरेकाे छ । माल्दिभ्स नयाँ दिल्लीकाे कोलम्बो सुरक्षा सम्मेलनमा सहभागी छ । यसमा श्रीलंका र हालै मौरिसस पनि सामेल भएका छन् । यसैका कारण माल्दिभ्समा भारतीय सेना उपस्थित हुने भन्दै उनीहरूले भारतविराेधी अभियान चलाएका हुन् ।