वाग्मतीको सिनामंगल क्षेत्रबाट उठाइयो छ मेट्रिकटन फोहर

काठमाडौं । सिनामंगल क्षेत्रको वाग्मती किनारमा सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको ४६७औं तथा तिलगङ्गा महिला समूहको ३६७औं हप्ताको सफाइका क्रममा त्यस क्षेत्रमा सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, सिभिल क्यापिटल मार्केट प्राली, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, बानेश्वर महिला वातावरण व्यवस्थापन प्राली, आलोकनगर सरसफाइ टोल सुधार समिति एवं वाग्मती अभियानकर्मी र स्थानीयवासीको सक्रियता थियो ।
सो अवसरमा पृथ्वी दिवसका अवसरमा सिनामंगल वाग्मती पुल नजिकै वृक्षरोपण गरेको छ । कपुर र तेजपत्ताका बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन् ।
नदी किनारमा धेरै फोहर जम्मा भएको पनि उनले सुनाइन् । नदी किनारमा जम्मा भएको फोहर नदीमै मिसिने भएकाले सफाइ गर्नु र नगर्नुको अर्थ नभए पनि जनता जागरणका लागि अभियानलाई निरन्तरता दिइएको हो ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन ।
महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।
प्रतिक्रिया