एमालेले पोखरामा खोस्यो टिकट, पौडेलको ठाउँमा थापा यसरी बनाइए मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा दिइसकिएको टिकट एमालेले खोसेको छ । दीपक पौडेललाई यस अघि नै दिइएको टिकट नेताको टकराव र विवादका कारण खोसिएको हो । पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिइएको हो । थापा २०५४ मा पनि पोखराको मेयर भएका थिए ।
खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङबीच विवाद हुँदा पहिलेको निर्णय उल्टिएको हो । पृथ्वीसुब्बा निकटका पौडेलले पहिले टिकट पाएका थिए । तर अहिले थापालाई टिकट दिइएको छ ।
पौडेललाई टिकट दिइएपछि उनको पुरानो विवादास्पद भिडियो बाहिर ल्याइएको थियो । यसैलाई देखाउँदै खगराज प्यानलले टिकट उल्ट्याउनेसम्मको काम गरेको हो ।
उपमेयरकाे उम्मेदवार भने मञ्जु गुरुङ नै हुनेछिन् ।
पोखरामा सत्ता गठबन्धनबाट नेकपा एसले मेयरमा प्रतिस्पर्धा गर्दैछ । कांग्रेसले उपमेयरमा उम्मेदवारी दिंदैछ । २०७४ सालमा पनि पोखरामा एमाले विजयी भएको थियो ।
एमालेको बलियो प्रभाव रहेको पोखरामा यसपटक आन्तरिक किचलो बढेपछि सत्ता गठबन्धनलाई फाइदा हुने बुझिएको छ ।
प्रतिक्रिया