NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मनोनयनका रोचक दृश्य : कोही लखेटिए, कतै अग्राख पलायो, कसैले उम्मेदवार नै भेटेनन्

रोल्पामा विप्लव र कांग्रेस-एमालेबीच अंकमाल

काठमाडौं । सोमबार स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन गर्ने दोस्रो अर्थात् अन्तिम दिन । निर्वाचन आयोगका अनुसार, देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा ८२ हजार २१० ले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । अब आयोगले उम्मेदवारमाथिको दाबीविरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेर अन्तिम नामावली प्रकाशन गर्नेछ । अन्तिम नामावली प्रकाशनमा परेकाहरूबीच नै वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

स्थानीय तहका प्रमुख पदको उम्मेदवारी हत्याउन ठूला राजनीतिक दलभित्रका आकांक्षीबीच निकै रस्साकस्सी चल्यो । पहिलो दिन यस्ता दृश्य सतहमा प्रकट नभए पनि सोमबार छताछुल्ल नै भयो । धनवाद हाबी हुँदा कतै इमान्दार पाखा परे भने  दलबदलु रोजाइमा पर्दा त्यागीहरू निराश भए । टिकट लिएर पुगेका कोही आफ्नै कार्यकर्ताको निशानामा परेर लखेटिए भने केहीले पाइसकेको टिकट पनि जोगाउन सकेनन् । टिकटका निम्ति ठूला दलमा लडाइँ हुँदा केही साना दलले भने उम्मेदवारसम्म भेटेनन् । कतै किरियापुत्री उम्मेदवार मनोनयनका लागि पुगेका देखिए भने दोस्रो कार्यकालका लागि मेयरबाट राजीनामा दिएकाको उम्मेदवारीले मान्यता नै पाएन ।रोल्पामा चाहिँ राष्ट्रिय राजनीतिको भन्दा फरक दृश्य विप्लव र कांग्रेस–एमालेबीच अंकमाल भयो ।

जसको पोल्टाको टिकट गुम्यो

स्थानीय तह निर्वाचन घोषणापछि नै आकांक्षी टिकट हत्याउने दौडमा लागेका थिए । त्यसमध्ये केही टिकट हात पार्न सफल पनि भए । उम्मेदवार मनोनयनअघिसम्म दलका प्रमुख र उपप्रमुखका उम्मेदवारका रूपमा चिनिएकामध्ये केहीले अन्तिममा पोल्टामा परिसकेको टिकट गुमाए । मुख्य दल एमाले र कांग्रेसमा यस्ता घटना बढी देखिए ।

खोटाङको दित्तेल नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा आकांक्षा देखाउने दर्जनौं थिए । त्यसमध्ये धर्मराज पोखरेल माहोल निर्माण गर्न सफल भए ।  उत्साहित पोखरेल कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले हस्ताक्षरगरेको पत्रसहित उम्मेदवारी दर्ताका लागि दित्तेल पुगे, त्यो पनि सानका साथ हेलिकोप्टर चढेर । आफ्नो प्रभाव भजाएर टिकट हत्याउन सफल उनलाई उम्मेदवार बनाइएकोमा स्थानीय कार्यकर्तामा असन्तुष्टि थियो । फलतः उनी कार्यकर्ताको तारो बने ।  सोमबार पोखरेलमाथि हातपात मात्र भएन, पोल्टामा परिसकेको टिकटसमेत खोसियो ।

सामाजिक सञ्जालमा उनलाई कार्यकर्ताले लखेट्दै कुटपिट गरेको भिडियो अहिले चर्चामा छ । पोखरेलको टिकट खोसेर कांग्रेसले त्यहाँ तीर्थराज भट्टराईलाई अघि सारेको छ ।

कांग्रेसका पोखरेलकै जस्तै हविगत इलाम नगरपालिकामा एमालेबाट टिकट पाएका नरेन्द्रनाथ भट्टराईको पनि भयो । असन्तुष्ट पक्षले उनलाई टिकट दिएको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गर्यो । विरोधपछि एमालेले पूर्व निर्णय परिमार्जन गर्दै धीरेन चेम्जोङलाई मैदानमा उतारेको छ ।

गण्डकीका एमालेका चिरपरिचित प्रतिद्वन्द्वी पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीको जुँगाको लडाइँले पोखरामा उम्मेदवार चयन गर्न एमालेलाई सकस परेको थियो । सुरुमा चुनाव गर्ने तयारी भएको थियो । तर एकाएक माहोल बदलियो र दीपक पौडेलको पक्षमा पासा पल्टियो । तर पोखरा महानगरपालिकाको मेयर टिकट उनको राजनीतिक भविष्य र प्रतिष्ठाकै निम्ति महँगो पर्यो । उनले सुन चोर्दै गरेको दाबी गर्दै भिडियो सार्वजनिकपछि  एमालेले पूर्ववर्त निर्णय परिमार्जन गरेर कृष्ण थापालाई मेयरको उम्मेदवार बनाएको छ । यद्यपि, पौडेलले भिडियो अरू कसैको भएको बताएका छन् ।

अग्राख पलाउँदा चिठ्ठा पार्नेहरू

भनिन्छ, रात रह्यो, अग्राख पलाउँछ । आइतबार र सोमबार  कतिपय स्थानीय तहको उम्मेदवार मनोनयका क्रममा यस्तै दृष्य देखिए । जसका कारण टिकट पाइसकेकाले गुमाए भने कर्नरमा पुगेकाको भाग्य एकाएक चम्कियो ।

कास्कीको रुपमा गाउँपालिकामा अन्तिम समयमा उम्मेदवार परिवर्तन गरिएको छ । नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि त्यहाँ उम्मेदवार परिवर्तन गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि त्यहाँको अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठको नाम काटेर गीमाया गुरुङ र नारायण श्रेष्ठलाई क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाइयो ।

कास्कीकै पोखरा महानगरपालिकामा पनि असन्तुष्टिपछि उपमेयर उम्मेदवार परिवर्तन गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सुरेन्द्र बिजुक्छेको नाममा असहमति जनाएपछि त्यसमा टिपेक्स लगाएर कोपिला रानाभाटलाई उतारिएको छ ।

असन्तुष्टिले चौतारा रणमैदान

उम्मेदवार मनोनयन सर्वसम्मत नहुँदा सोमबार सडकमा असन्तुष्टि छताछुल्ल भए ।  सिन्धुपाल्चोकको चौतारा त माओवादीका नेता–कार्यकर्ताका कारण एकाएक रणमैदानमा फेरियो ।

जिल्लाका शीर्षस्थ नेताहरू माथि माओवादीका कार्यकर्ता जाइजाइलाग्दा सुरक्षाका लागि सेना नै गुहार्नुपर्ने अवस्था बन्यो ।

माओवादी आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित भएको बताइएको छ । विरोधपछि तामाङले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर झडपको कारण भने वडा नम्बर १ र १४ को वडाध्यक्ष अर्को पार्टीलाई दिनु भएको बताइएको छ ।

दल बदलुलाई रेड कार्पेट

त्यागी र इमान्दारले मूल्यांकन नभएको भन्दै चित्त दुखाइरहँदा दलबदलुका लागि भने फलिफापपूर्ण देखियो । वल्लो घर छाडेर पल्लो घर सरेका नरेहरूलाई कांग्रेसदेखि माओवादी केन्द्रसम्मले स्वागत गरे र वर्षौं पार्टीको संगठनमा सिञ्चित गरेका कार्यकर्ताको चित्त दुखाएर टिकट थमाए ।

जनता समाजवादी पार्टी, बाराका नेता तथा सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र राय यादव आइतबारसम्म पार्टीबाट अध्यक्ष उम्मेदवार बन्ने मनस्थितिमा थिए । तर पार्टीले अन्तिममा उनको साटो धर्मवीर यादवलाई टिकट दियो । लगत्तै महेन्द्र धार परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरे । उनलाई लोसपाको मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले एक हातमा फूलमाला राखिदिएर अर्को हातमा टिकट थमाइदिए ।

उता, नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङसहितका नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । क्षेत्रीय सभापति सुशील खड्का, पालिका कमिटी सचिव कृष्ण स्याङ्तानलगायत टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्वय काशीनाथ अधिकारी र डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे लगायतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको थियो ।

जो परे हिस्स

धनुषाको विदेह नगरपालिकाको मेयर टिकटको आश्वासनपछि नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द साहले गत फागुनमा राजीनामा दिएर राजनीतिमा आउने घोषणा गरेका थिए । उनी प्रहरीका आइजीपी शैलेस थापा क्षेत्रीका ब्याची हुन् ।

उम्मेदवार मनोनयनपूर्ण विदेह नगरपालिकामा साह कांग्रेसको तर्फबाट मेयर उम्मेदवार बन्ने चर्चा थियो । तर अन्तिममा उनी रिङ आउट भए ।  उनको स्थानमा कांग्रेसले योगेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

गोरखा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट विश्वदेव श्रेष्ठले पाएको टिकट अन्तिममा खोसिएको छ । कांग्रेस पार्टीको गण्डकी प्रदेश समितिले गरेको निर्णयलाई उल्ट्याउदै सोमबार केन्द्रीय समितिले राजनराज पन्तलाई टिकट दिएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । पन्त पक्षले श्रेष्ठमाथि हातपातसमेत गरेको छ । आफू फोटो खिच्न स्टुडियो गएका बेला कुटपिट भएको श्रेष्ठको भनाइ छ ।

कोरा छाडेर निर्वाचन कार्यालय

जालझेल, तिकडमबाजी र मारपिटकाबीच केही फरक दृश्य पनि देखिए सोमबार । आमाको मृत्युमा शोकमा रहेका भीमलाल अधिकारी किरियापुत्रीकै भेषमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पाँच दिनअघि आमा गुमाएका उनले एमालेको तर्फबाट मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नगरपालिकाको उपमेयरमा चाहिँ एमालेले  पूर्णकला महतोलाई उतारेको छ ।

रोल्पामा विप्लव र कांग्रेस एमालेबीच अंकमाल

अहिलेको राजनीतिक कोर्षप्रति नै असन्तुष्ट विप्लवमा स्थानीय तह निर्वाचनमा भाग/लिने नलिने विषयमा दुईधार छ । संस्थापन धारले भने विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन नै बनेको छ । एमाले र कांग्रेसले साथ दिने भएपछि त्यहाँ विप्लवका स्वतन्त्र उम्मेदवार अध्यक्षमा खडा भएका छन् ।

बागलुङका केही वडामा भने विप्लव र जनमोर्चाबीच तालमेल भएको छ ।

हृदयेशले पाएनन् उम्मेदवार

पार्टीले टिकट नदिँदा कैयनले दल, बदलदेखि स्वतन्त्र उम्मेदवारी दिनेसम्मका निर्णय लिए । खासगरी ठूला दलमा आकांक्षी व्यवस्थापन निकै सकसपूर्ण देखियो ।

ठूला दलमा उम्मेदवार बन्न होडबाजी चलिरहँदा साना दलले भने उम्मेदवारसमेत भेटेनन् । लामो समय स्वतन्त्र रहेर भर्खरै नयाँ दल गठन गरेका हृदयेश त्रिपाठीले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा उम्मेदवार नभेटेका हुन् ।

योसँगै त्रिपाठीको दल पश्चिम नवलपरासीका स्थानीय तहमा प्रतिनिधित्वविहीन रहने भएको छ ।

त्रिपाठीले तराईलगायतका १७ जिल्लामा आफ्नो संगठन विस्तार गरेको बताउँदै आएका थिए । तर उनको दलले ७ वटा पालिका रहेको पश्चिम नवलपरासीमको प्रतापपुर गाउँपालिकामा मात्र प्रमुखसहित सबै पदमा उमेदवारी दिन सक्यो ।  सुस्ता गाउँपालिकामा एउटा वडामा उम्मेदवार नपाए पनि अध्यक्ष र उपाध्यक्षसहित अन्य वडामा उम्मेदवारी परेको छ ।

र, यो पनि,

सर्लाहीको लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काको उम्मेदवारीले नै मान्यता पाउन सकेन । खड्काले उम्मेदवार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट टिकट पाएका खड्काले बिहानै ११ बजेर ४० मिनेटमा मनोनयन दर्ता गरेका थिए ।

खड्काले मनोनयन गराएको केहीबेरपछि गोविन्द महत एमाले केन्द्रीय कमिटीको सिफारिस लिएर उम्मेदवारी मनोनयन गर्न पुगे । सुरुमा निर्वाचन अधिकृतको कार्यालयले महतको उम्मेदवारी दर्ता गर्न मानेको थिएन । तर एमालेको प्रदेशले पनि महत नै आधिकारिक उम्मेदवार भएको पत्र लेखेपछि खड्काको उम्मेदवारी बदर गरियो ।

ताजा अपडेट

नेपालवाच विशेष