विदेशबाट फर्केर गाईपालन, कमाइ मासिक ८० हजार
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्थे । विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाइरहेका छन् । उनको आफ्नै गाईफार्म छ ।
केसी दिनभर गाईको गोबर सोहोर्छन् । गाईलाई दाना–घाँस खुवाउँछन् । साँझ बिहान भने उनी गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किन्छन् । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।
केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बसे । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए,” उनले भने । केसीले ०७४ सालदेखि व्यावसायिक गाईपालन गर्न थालेका हुन् । उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल भएका छन् । “मिहिनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ,” उनले भने, “अब विदेश जाने सोचै छैन ।”
केसीले अहिले मासिक करिब रु एक लाख २० हजारबराबरको कारोबार गर्दै आएका छन् ।
सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उनी बताउँछन् । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनी बताउँछन् । केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गरेका हुन् । अहिलेसम्म उनले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसकेका छन् । हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उनको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पालेका छन् ।
रु ३५ लाख हाराहारी लगानी गरेका उनले त्यो उठाइसकेका छन् । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताए । उनले रु १० हजार तलब दिएर एक कर्मचारीसमेत राखेका छन् । दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । ‘किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ,” केसीले भने । उनले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याएका हुन् ।
केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लागेका छन् । हाल उनको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उनले बताए । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उनको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपर्थ्यो,” श्रीमती सरिताले भनिन्। “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया