प्रचण्ड र खाँणसँग जगन्नाथको प्रस्ताव : मलाई मेयर, रेणुलाई मन्त्री बनाऔँ

काठमाडौँ । भरतपुर महानगरको मेयर पदका लागि बागी उम्मेदवार जनन्नाथ पौडेलले गृह मन्त्री बालकृष्ण खाँणसँग नयाँ प्रस्ताव अघि सारेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका पौडेललाई फकाउन चीतवन पुगेका गृह मन्त्री बालकृष्ण खाँणलाई पौडेलले फकाउँदै भने, कांग्रेस जोगाउनु पर्छ । यसपाली रेणु दाहालको उम्मेदवारी फिर्ता गराऔँ । दाहाललाई आगामी संघीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार बनाएर लैजान सकिने उनले प्रस्ताव गरेका छन् ।
भरतपुरमा नेपाली कांग्रेसको विरासत जोगाउनकै लागि पनि आफुले उम्मेदवारी दिनुपरेको पौडेलको जिकिर छ । उनले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने बताएको नेपालवाचसँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले बताए ।
‘म चितवन जाँदा पौडेलजीसँग भेट भएको हो । उहाँ मेरो पुरानो मित्र हो । मैले पार्टीले कारबाही गर्ला, अप्ठ्यारो पर्छ की भनेर सम्झाएको हो ।, पराजुलीले नेपालवाचसँग कुरा गर्दै भने, उहाँले यसपाली कुनै हालतमा छाड्दीन भन्नुभयो ।’
पूर्वप्रधानन्यायाधीश पराजुलीका अनुसार पौडेलले शुरुमा उम्मेदवारी फिर्ता लिन मनस्थिती बनाएका थिए । तर कांग्रेस कार्यकर्ताले फिर्ता नलिन दवाव दिएका छन् ।
पराजुलीकाअनुसार पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि फोन गरेर आगामी संघिय निर्वाचनमा रेणु दाहाललाई त्यस क्षेत्रको साझा उम्मेदवार बनाएर लैजाने प्रस्ताव गरेका छन् । ‘उहाँले एक कार्यकाल महानगरको नेतृत्व गरिसक्नु भएको छ, उहाँका बाँकी सपना म पुरा गर्छु ।, पौडेलले प्रचण्डलाई भने, रेणुजीको उम्मेदवारी फिर्ता गरेर सहयोग गर्नुहोस् ।’
स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले गृह मन्त्री खाँणसँग भने यसपाला पनि रेणुलाई जिताए अर्को बर्षबाट भरतपुरमा कांग्रेसले स्पेश खोज्न नसक्ने चेतावनी दिएका छन् । पहिलो निर्वाचनको तुलनामा माओवादी केन्द्र र एमालेले आफ्नो संगठनमा धेरै सुधार गरेको भन्दै उनले भरतपुरमा कांग्रेसको विरासत भत्किन लागेको बताएका थिए ।
पौडेलले पार्टीकै लागि चुनाव लड्दा निस्कासन गर्छ भने प्रतिवाद नगर्ने बताएका छन् ।
प्रतिक्रिया