NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट ओडेसाको विमानस्थल क्षतिग्रस्त

ओडेसा । युक्रेनको ओडेसाको मुख्य विमानस्थलको धावनमार्ग रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट ध्वस्त भएको छ । शनिबार राति सार्वजनिक भिडियोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक ब्ल्याक सी बन्दरगाहमा नवनिर्मित धावनमार्ग भत्किएको र यसको पुननिर्माण पनि गर्ने बताएका छन् ।

‘हामी यसलाई पुनर्निर्माण गर्नेछौं । तर ओडेसाले रुसको व्यवहारलाई कहिले बिर्सनेछैन’ उनले भने । क्षेत्रीय अधिकारीहरूले रुसले कब्जा गरेको क्रिमियन प्रायद्वीपबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण विमानस्थल अब प्रयोग गर्न नसकिने बताए ।

ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसी सेनाले आक्रमणमा बास्टिन मिसाइल प्रयोग गरेको बताए ।

ओडेसा सहरका मेयर गेनाडी ट्रुखानोभले गत जुलाईमा औपचारिक रूपमा खोलिएको नयाँ धावनमार्ग डिजाइन र निर्माण गर्न १० वर्ष लागेको बताए । मस्कोबाट भएको आक्रमण बारे कुनै टिप्पणी गरिएको छैन । रुसी सेनाले युक्रेनको तेस्रो ठूलो सहर ओडेसालाई लक्षित गरी छिटपुट रूपमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ ।

गत साता ओडेसामा भएको आक्रमणमा ८ जनाको ज्यान गएको थियो । पछिल्लो समय रुसले युक्रेनको दक्षिण र पूर्वतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ । राजधानी किएभ कब्जा गर्न असफल भएपछि दक्षिण र पूर्वतर्फ केन्द्रित भएकाे हाे । युक्रेनमा गरेकाे नौ साताको आक्रमणमा सहरहरु ध्वस्त भएका छन्, हजारौं नागरिकको ज्यान गएको छ र ५० लाखभन्दा बढी विदेश पलायन भएका छन् ।

रुस युक्रेनको दक्षिण क्षेत्रलाई क्रिमियासँग जोड्न चाहन्छ । पूर्वी क्षेत्रमा भने डोनबासका दुई प्रान्त लुहान्स्क र डोनेट्स्कका केही भागहरू फेब्रुअरी २४ मा रुसले आक्रमण गर्नुभन्दा अघि नै रुसी समर्थित पृथकतावादीले नियन्त्रणमा लिएर स्वतन्त्र राज्य घोषणा गरेका छन् ।

जेलेन्स्कीले आफ्नो सम्बोधनमा रुसले देशको पूर्वमा नयाँ आक्रमणका लागि थप बलहरू जम्मा गरिरहेको छ र डोनबास क्षेत्रमा दबाब बढाउन प्रयास गरिरहेको बताए । पूर्वी युक्रेनमा जारी युद्धका कारण त्यहाँ समाचार संकलन र तस्बिरका लागि निकै खतरायुक्त वातावरण बनेको छ ।

अहिलेसम्म रुसी सेना र पृथकतावादीहरूले मस्कोले आफ्नो सैन्य शक्तिलाई पूर्वमा केन्द्रित गर्ने बताएको एक महिनामा थोरै मात्र फाइदा भएको देखिन्छ । संख्यात्मक रूपमा रुसको सैन्य जनशक्ति युक्रेनको भन्दा धेरै छ ।

युद्ध सुरु हुनु अघिका दिनहरूमा पश्चिमी गुप्तचरहरुले रुसले सीमानजिकै एक लाख ९० हजार सैनिकहरु तैनाथ गरेको अनुमान गरेका थिए । तर युक्रेनका सेनाहरु २० हजारको संख्यामा मात्रै युद्ध मैदानमा खटिएका छन् ।