NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि

काठमाडौं । उमेरले ८० वर्ष प्रवेश गरेका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन् ।

पञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।

पछिल्लो पटक विसं २०७४ को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उनले मत खसाले । जोरपाटी–थली–साँखु सडकको नजिकैको घरमा बस्दै आएका उनीजस्ता हजारौं नागरिकले विगत सात वर्षदेखि धुलो र हिलो भएको सडकको सास्ती भोग्नुपरेको छ ।

विसं २०७२ मै ठेक्का भएको यो सडक पाँच वर्षअघिको निर्वाचनताका पनि यस्तै धुलाम्य र हिलाम्य थियो । अहिले पनि उस्तै छ । त्यसबेला तीनै तहको निर्वाचनमा मत माग्न आउँदा विभिन्न दलका नेता, कार्यकर्ताले आफूले जिते धुलो र हिलोको समस्या समाधान हुने प्रतिबद्धता जनाएका थिए । स्थानीयवासीका अनुसार विगत पाँच वर्षमा सो सडकको अवस्थामा सुधार भएन । सडक किनारका घरले उठाउँदै आएका मुद्दा समाधान गरिएन ।

“चुनावप्रति अब ममा उत्साह नै छैन, मत हाल्न पनि जाऔँ कि नजाऔँ जस्तै लाग्न थालेको छ, धुलो र हिलोले बसिसक्नु छैन,” जीवनको आठ दशक पार गरिसकेका कुइँकेलले भने । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्रसमेत रहेको थलीका मतदाताको मोह कान्ति भैरव माध्यमिक विद्यालयका नाममा रहेको ठूलो चौरको विभिन्न तहबाट भएको अतिक्रमणले पनि भङ्ग भएको छ ।

दुई दशकदेखि नै विद्यालयको जग्गा वरिपरिबाट स्थानीय सीमामा परेका जग्गाधनीले नै मिचेका थिए । नगरपालिकाको भवन त अन्तिम चरणमा पुगेको छ । खुला चौर भने मासिएको छ । विसं ०७२ वैशाख १२ गतेको भूकम्पपछि हजारौँ मानिसले थली चौरको खुला आकाशमुनि आश्रय लिएका थिए । अन्यत्रको सार्वजनिक जग्गामा नगरपालिकाको भवन बनाउन सकिने भए पनि विद्यालयको जग्गा स्थानीय सरकारले उपयोग गर्दा विपद्मा आश्रय लिने ठाउँ नभएको स्थानीय सृजना पौडेलले सुनाए ।

“थली चौर यहाँको सान थियो, भूकम्प, आगलागी, बाढी पहिरोजस्ता विपद्मा अब कहाँ गएर आश्रय लिने ?” स्थानीय तहका जनप्रतिनिधिलाई उनको प्रश्न छ ।स्थानीयवासी ३० वर्षदेखि हिँड्दै आएको बाटो बन्द भएर दुःख पाएको गुनासो गर्छन् ।

एक दशक अघिदेखि थली चौरको करिब ३०० मिटरभित्र घर बनाएर बस्दै आएका तुलसीप्रसाद चौलागाईं एक वर्षदेखि बाटो नपाएको सुनाउँछन् । न्यायिक समितिमा एक वर्ष अघिदेखि उजुरी दर्ता गरे पनि न्याय नपाएको उनको दुःखेसो छ । न्यायिक समितिले तीन महिनामा न्याय दिनुपर्ने कानुनी व्यवस्था भए पनि पूरा भएको छैन ।स्थानीय तहमा सानातिना मुद्दा मिलाउन सक्ने गरी न्यायिक समितिको व्यवस्था गरे पनि त्यो प्रभावकारी हुन नसकेको बताइएकोछ ।

कागेश्वरीमा केन्द्रमा भन्दा बढी समस्या वडावडामा छ । नगरपालिकाको–६ मूलपानीको भित्री सडक दुई महिनादेखि ढलान एवं स्तरोन्नति रोकिएको छ । व्यक्तिले आफ्नो रुचिअनुसार सडकमा जग्गा नपार्न चाहेकाले काम रोकिएको स्थानीय पीडित विदुर सापकोटा बताउँछन् ।

आसन्न निर्वाचनका लागि नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । नौ वडा रहेको नगरपालिकामा नगर प्रमुखका ११, उपप्रमुखका पाँच उम्मेदवार मैदानमा छन् । वडाध्यक्ष र सदस्यसमेतको गरी कूल २०९ जना उम्मेदवारले प्रतिष्पर्धा गरिरहेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए ।