NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नियुक्तिपत्र दिन डेढ दर्जन कर्मचारी खोज्दै विद्युत् प्राधिकरण

काठमाडौं । सरकारी जागिरको क्रेज नेपालमा उच्च छ । त्यसलै जुन सरकारी कार्यालयले कर्मचारी माग गर्दै विज्ञापन आह्वान गर्छ, त्यहीँ युवायुवतीको भीड लाग्छ । सरकारी जागिरका लागि प्रतिस्पर्धा चर्को देखिए पनि नेपाल विद्युत् प्राधिकरणमा भने फरक परिदृश्य देखिएको छ । प्राधिकरणका विभिन्न पदको लिखित् तथा अन्तर्वार्तामा सफल भएर नियुक्तिका लागि सिफारिस भइसकेका डेढ दर्जन व्यक्ति नियुक्तिपत्र बुझ्न आएका छैनन् । केहीचाहिँ नियुक्तिपत्र बुझेर पनि तोकिएको कार्यालयमा हाजिर हुन गएका छैनन् । छनोट भएका कर्मचारी सम्पर्कमा नआएपछि प्राधिकरणले अन्तिम पटक सूचना जारी गरेर ताकेता गरेको छ ।

प्राधिकरणको तह ४ को सहायक लेखापालदेखि फोरमेनसम्मका पदमा नियुक्तिका लागि सिफारिस १७ जना सम्पर्कमा नआएका हुन् । प्राधिकरणका अनुसार, यीमध्ये केहीले नियुक्तिपत्र नै बुझेका छैनन् भने कतिपय नियुक्तिपत्र बुझेर पनि पोस्टिङ भएको कार्यालयमा हाजिर हुन गएका छैनन् ।

सिफारिस भइसकेर पनि नियुक्तिपत्र नलिने तथा सम्पर्कमा नजानेहरूमा प्रभाकर कोइराला, गंगा अधिकारी, प्रभु महतो, उद्धवबहादुर मगर, अञ्जनी पंगेनी, सीता घिमिरे, शुभम्कुमार झा, रवीन्द्र भुजेल घर्ती, श्रवणकुमार श्रेष्ठ, नरेन्द्रबहादुर थापा, निर्मला ओझा, विवेक खतिवडा, शिव श्रेष्ठ, राजन केसी, बज्रकिशोर शाह, अखलेश सिंह र नयन रिमाल छन् । यी व्यक्ति खुला, महिला, आदिवासी जनजाति कोटाबाट सहायक लेखापाल, सिनियर मिटर रिडर र फोरमेनमा नियुक्तिका लागि सिफारिस भएका थिए ।

प्राधिकरणको स्थायी सेवाको नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरू नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ मा तोकिएको अवधिभित्र नियुक्ति पत्र लिन नआएकाले अबको १५ दिनभित्र सम्पर्कमा आउन तथा नियुक्तिपत्र लिएकालाई तोकिएको कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा नियुक्तिका लागि सिफारिस गरिएका कर्मचारी सम्पर्कमा नआउने समस्या यसअघि पनि देखिएको थियो ।