चुनावको मुखमा कांग्रेसमाथि ओलीले लगाएका गम्भीर आरोपमा के–के छन् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले २७ वर्षमा टाट पल्टाएको मुलुकलाई एमालेले १० वर्षमा समृद्ध बनाएको दाबी गरेको छ ।
२७ वर्ष मुलुकमा शासन गर्दा कांग्रेसले संसदमा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्नेदेखि आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने काम गरेको, उद्योग कलकारखाना बेचिएको, सांसदलाई विदेशमा बन्धक बनाएको, शासनव्यवास्था राजालाई सुम्पिएको, स्वतन्त्र न्यालयमाथि हस्तक्षेप गरेको लगायतका गम्भीर आरोप लगाएको छ ।
स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गर्न आइतबार केन्द्रीय कार्यलय ललितपुरमा पत्रकार सम्मेलन गरी अपिल गर्दै अध्यक्ष ओलीले एमालेले १० वर्षमा मुलुकको समग्र विकास निर्माण, परिवर्तन र रुपान्तरणमा युगान्तकारी उपलब्धी हासिल गरेको दाबी गरे ।
एमालेले जारी गरेको ६७ पृष्ठको अपिलमा ४० औं बुँदादेखि ४२ औं बुँदासम्म कांग्रेस नेतृत्वको सरकारले २७ वर्षमा गरेको नकारात्मक कामबारे फेहरिस्त देखाएको छ ।
यस्ता छन् ३ बुँदामा एमालेले कांग्रेसमाथि लगाएको गम्भीर आरोप
१. नेपाली काँग्रेस २७ वर्ष सरकारमा रहँदा संसद्मा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्ने, आफ्नै सरकारविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने, बिना कारण अन्य दलका सरकारविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्ने, सांसदलाई विदेशसमेत लगी बन्धक बनाउने, संविधानबमोजिम ताजा जनादेशमा जाने सरकारको निर्णयउपर मुद्दा मामिला गर्न पटक–पटक अदालत जाने, महाभियोगको डर, त्रास देखाई अदालतको स्वतन्त्रता हनन् गर्ने, संसद् भङ्ग गरी राजालाई सत्ता सुम्पिने, संसद्बाट निर्वाचित प्रधानमन्त्रीको पद त्याग गरी राजाबाट नियुक्त प्रधानमन्त्रीको पद खाने, देश–जनता–राजनीतिलाई चरम् अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्गप्रशस्त गर्ने, निजामती सेवा नै खल्बलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने, प्रहरी संगठनमा प्रचलित ऐन नियमको दायरा उल्लंघन गर्दै नियुक्ती र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने, आधारभूत वस्तु उत्पादन गर्ने सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने, कर फछ्र्यौटको बहानामा सरकारलाई तिर्नु÷बुझाउनुपर्ने एकीन भइसकेको राजश्व मिलेमतोमा छूट माफी गरी देश र जनताको सम्पत्ति\राजश्व खाने, परिवारका सदस्य र नातेदारहरूको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरूपयोग गरी सत्ताभोग गर्नेलगायतका देश र जनताविरोधी कार्यहरू नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।
२. काँग्रेस शासनकालमा आर्थिक बृद्धि, कृषि, उद्योग, व्यापार–व्यवसायको विकासलाई तीब्र गति दिन, बेरोजगारी, अभाव, गरीबी, विपन्नताको अन्त्य गरी देशलाई समृद्ध बनाउनका लागि देश र जनताकेन्द्रित कुनै सोंच, नीति र कार्यक्रम थिएनन्, छैनन्, हुँदैनन् पनि । काँग्रेसकालमा आधुनिक भौतिक पूर्वाधार विकासका कुनै योजना न शुरू भए, न त सम्पन्न नै भए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको भूमिकालाई अत्यन्त कमजोर बनाइयो, सामाजिक सुरक्षा र लोककल्याणप्रति निरन्तर उदासिनता देखाइयो । महिला, दलित, अपाङ्ग, जनजाति, आदिवासी, मानव सूचकाङ्कमा पछिपरेका भौगोलिक क्षेत्र र वासिन्दाहरूको उत्थानका लागि कुनै कार्यक्रम आएनन्, घरबारविहीन सुकुम्बासीहरूका लागि कुनै सम्बोधन भएन, सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने अवस्थामा पुगेको सुकुम्बासी समस्या समाधान आयोग पटक–पटक खारेज गरियो । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाहरूको हित र कल्याणमा कुनै ध्यान दिइएन, समाजमा व्याप्त कुरिती, कुप्रथाहरू हटाई सामाजिक परिवर्तन, रूपान्तरण र सशक्तीकरणका कुुनै कार्यक्रमहरू काँग्रेस सरकारमा रहँदा सोच्दा पनि सोचिएनन् ।
३. नेपाली काँग्रेस देश र जनताको विकास तथा समृद्धिका लागि आफू नीति कार्यक्रम ल्याउँदैन, विकास निर्माण र जनहितका लागि स्रोत–साधन छैन, अहिले केही पनि गर्न सकिंदैन, गर्न पनि हुँदैन, अझ आधुनिक विकास निर्माणतर्फ त देशलाई लग्नै हुँदैन, यो काँग्रेस सरकारको विगतदेखिकै घोषित मान्यता हो । हालै जारी भएको काँग्रेसको घोषणा–पत्रले पनि यसको पुष्टि गर्दछ । अचम्म त के लाग्दछ भने नेकपा (एमाले)ले ल्याएका नीति, कार्यक्रम र आयोजनाहरूलाई काँग्रेस मजाक र गफ भन्दछ । देशको समृद्धि र जनताको सुखलाई काँग्रेस कोरा सपना र उल्टो विकास भन्छ । ठिकै पनि हो, उसका लागि त सुल्टो भनेको, परिवार, नातेदार, गूट र अवसरवादीको हित र सत्ताभोग नै हो । काँग्रेस देशलाई गरीबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहन्छ ।
मुलुकलाई यथास्थितिमा राख्न कांग्रेसले षड्यन्त्र गर्याे : ओली
प्रतिक्रिया