फिलिपिन्स निर्वाचन : छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित

मनिला । फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाएका थिए ।
दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उनीहरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मंगलबार विजयी भएका हुन् । राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको र त्यो संख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत एक एक जना राष्ट्र्पति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् ।
मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाएका थिए । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।
पूर्व सिनेटर समेत रहेका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नेछन् । अहिलेका राष्ट्रपतिको ६ वर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन् ।
फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया