NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बालबालिकामा अज्ञात कारणबाट कडा हेपाटाइटिस !

काठमाडौं । ‘अज्ञात कारण’ले बालबालिका हेपाटाइटिस संक्रमणबाट पीडित बन्न थालेपछि अमेरिकी रोज नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले अध्ययन सुरु गरेको छ । सिडिसीका अनुसार अमेरिकामा पछिल्लो सात महिनामा संक्रमणको कारण थाहा नभएको हेपाटाइटिसबाट दुई सय ७८ बालबालिका पीडित छन् ।

हेपाटाइटिसबाट यस वअवधिमा पाँच बालबालिकाको मृत्युसमेत भएको छ ।

सात महिनायता अमेरिकासहित एसियाका केही देशमा यस्तै प्रकृतिको हेपाटाइटिस देखिन थालेपछि विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले विश्वभर देखिएका घटनाको अनुसन्धान गर्न थालेको बताएका छन् ।

अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानमा संक्रमित बालबालिकामध्ये ९० प्रतिशतभन्दा बढी अस्पताल भर्ना भएका थिए । त्यस्तै, १४ प्रतिशतमा कलेजो नै प्रत्यारोपण गर्नु परेको थियो । जसमध्ये आधाभन्दा बढीलाई एडेनोभाइरस अर्थात् सामान्य भाइरसबाट संक्रमण पुष्टि भएको छ ।

अस्पताल भर्ना भएका अधिकांश बालबालिका निको भइसके पनि सामान्य भाइरसको संक्रमणले नै कलोजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउनु जटिल भएको चिकित्सकहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१, अक्टुबरयता १६ वर्षमुनिकालाई हेपाटाइटिस समस्या देखिए (हेपाटाइटिस ए, बी, सी, डी र ई भाइरस नेगेटिभ भएका) तथा प्रयोगशाला परीक्षणमा कलेजो इन्जाइम ५०० आइयू एलभन्दा बढी देखिए रहस्यमय कडा हेपाटाइटिस भनेर परिभाषित गरेका छन् । यस्ता लक्षण भएका बिरामी देखिए सूचना दिन अनुरोध गरिएको थियो ।

सरुवा रोग विशेषण डा. शेरबहादुर पुन नेपाल हेपाटाइटिस संक्रमणको उच्च जोखिम भएको ठाउँ भएको बताउँछन् । संक्रमण भएर पनि बालबालिकामा नोटिस नगरिएको हुनसक्ने उनको आशंका छ । कोभिड महामारीको समयमा एडिनो भाइरस संक्रमितमा यस्तो समस्या देखिनु सामान्य नभएको र सजग हुनुपर्ने उनको सुझाव छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष